काठमाडौँ, २८ कात्तिक।अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) ले देशभर लगाएको उडान प्रतिबन्ध हटाएको छ। करिब साढे चार घण्टा उडान रोकिँदा १३ हजारभन्दा बढी उडान रद्द वा ढिला भएका छन्।
हवाई ट्राफिक नियन्त्रण केन्द्रहरूको सञ्चार प्रणालीमा समस्या आएपछि शुक्रबार दिउँसो (नेपाली समयअनुसार शनिबार बिहान २:३८ बजे) प्रतिबन्ध लगाइएको थियो । एफएएले “असाधारण परिस्थिति र सुरक्षाका कारण” उडान रोकिएको जनाएको थियो।
यातायातमन्त्री सन डफीले नेपाली समयअनुसार शनिबार बिहान ७ बजे आकाश खुला गरिएको जानकारी दिए। उनका अनुसार समस्या पहिचान भइसकेको छ, तर उडान तालिका सामान्य हुन केही समय लाग्नेछ।
फ्लाइटअवेयरका अनुसार ३,३०० भन्दा बढी उडान रद्द र करिब १०,२०० उडान ढिला भएका छन् । प्रतिबन्ध लाग्दा ३,५०० भन्दा बढी विमान आकाशमा थिए। करिब ६०० उडान फर्काइए वा अन्य विमानस्थलतर्फ मोडिए।
होमल्यान्ड सेक्युरिटी मन्त्री मार्कवेन मुलिनले दूरसञ्चार अवरोधका कारण समस्या आएको र साइबर आक्रमणको संकेत नभएको बताएका छन्।
प्रतिबन्ध हटे पनि असर सप्ताहन्तसम्म रहने देखिएको छ। एयरलाइन्सहरूले शनिबारका ३०० भन्दा बढी उडान रद्द गरिसकेका छन्।
सन् २००१ को सेप्टेम्बर ११ आक्रमणपछि अमेरिकामा देशव्यापी रूपमा उडान रोकिएको यो दोस्रो पटक हो। यसअघि जनवरी २०२३ मा यस्तै प्रतिबन्ध लगाइएको थियो।




