दाङ — जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि बेलझुण्डीमा सुरु भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले खेल पर्यटनको सम्भावना बढ्दै गएको उल्लेख गर्दै यसलाई सुखद पक्षका रूपमा लिनुपर्ने बताए । प्रदेशको समग्र विकासमा खेल क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताउँदै उनले खेल पूर्वाधारको विकास, खेलाडी उत्पादन र नियमित प्रतियोगिता सञ्चालनमा सरकार गम्भीर रहेको जानकारी दिए ।
`खेल पर्यटनको वातावरण विस्तार हुँदै गएको छ। यसले समग्र प्रदेशको विकासमा समेत योगदान पुर्याउने विश्वास लिएको छु,´ उनले भने, `प्रदेश सरकारले खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको छ। सबै खेललाई बराबरी प्राथमिकता दिइएको छ ।´
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहबाट नयाँ खेलाडी उत्पादन गर्न उल्लेखनीय भूमिका खेलेको स्मरण गर्दै उनले यसलाई अझ व्यवस्थित गर्दै खेलाडीलाई उत्कृष्टता हासिल गर्ने वातावरण तयार गर्न सुझाव दिए ।




