सोमबार बानेश्वरमा बसेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्षसमेत रहेका ओलीले गृहमन्त्री लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्रविपरीत भएको बताएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिए सदन चल्न नदिने प्रतिपक्षी दलहरूको ‘बटमलाइन’ रहेको बुझेका प्रधानमन्त्री केपी शर्मा ओली ‘पेलेरै’ अगाडि बढ्ने निष्कर्षमा पुगेका छन् । ओलीले संसद् अवरोधबीच पनि चल्ने र त्यसका लागि तयार रहन सांसदहरूलाई निर्देशन दिएका हुन् । शीर्ष नेताबीचको बैठकमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले एउटा कर्मचारीलाई अख्तियारले अनुसन्धान गर्दैमा मन्त्रीको राजीनामा माग्नु उपयुक्त नभएको भन्दै संसद्मा अवरोध नगर्न आग्रह गरेका थिए ।
प्रधानमन्त्री ओलीले जसरी पनि संसद् नियमित गतिविधि अगाडि बढाउने बताउँदै गर्दा सोमबार नै बसेको प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठकले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद् अगाडि बढ्न नदिने निष्कर्ष निकालेको छ । बैठकले गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसद् अवरोधलाई निरन्तरता दिने निर्णय गरेको छ ।




