काठमाडौँ — घरजग्गा किनबेचमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट अनिवार्य पेस गर्नुपर्ने प्रावधान तत्काल लागू नहुने देखिएको छ ।
भूमि मन्त्रालयका अनुसार मालपोत कार्यालयमा कम मूल्य देखाउने तर ठूलो रकममा घरजग्गा कारोबार हुनेलगायत विषयलाई नियन्त्रण गर्न विभागले निर्देशन दिएको छ तर प्रधानमन्त्री कार्यालयबाट आएको निर्देशनपछि के गर्ने भनेर आन्तरिक रूपमा छलफल भइरहेको छ । प्रधानमन्त्री कार्यालयबाट अनौपचारिक निर्देशन आएकाले छलफलमै छौं, घरजग्गा किनबेचमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट अनिवार्य रूपमा पेस गर्नुपर्ने र केवाईसी भर्नुपर्ने विषयलाई तत्काल लागू नहुने देखिएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले यही जेठ १३ मा सम्पत्ति शुद्धीकरण तथा आतंकवाद क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा जारी गरेको निर्देशन २०८२ स्वीकृत गरेको छ । विभागले जेठ १४ मा देशभरका भूमिसुधार तथा मालपोत कार्यालय र मालपोत कार्यालयहरूलाई यससम्बन्धी ‘सर्कुलर’ समेत गरेको छ । त्यसयता घरजग्गा कारोबारमा खरिद–बिक्रीकर्ताको बैंक स्टेटमेन्ट अनिवार्य पेस गर्ने विषयलाई लिएर कार्यान्वयन गर्ने–नगर्ने विषयमा सरकारी निकायबीच नै मतभेद भएको थियो ।




