अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन–रुस युद्ध अन्त्यका लागि नयाँ शर्तहरू अघि सारेका छन् । अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर वार्तापछि ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई अमेरिकामा निम्त्याउँदै शान्ति सम्झौताका लागि दुई प्रमुख शर्त प्रस्ताव गरेका हुन्— युक्रेन नेटोमा सामेल नहुने र क्रिमिया रुसलाई नै स्वीकार गर्ने ।
ह्वाइट हाउसमा हुने वार्ताको पूर्वसन्ध्यामा ट्रम्पले भने, “यदि जेलेन्स्की चाहन्छन् भने युद्ध तुरुन्तै अन्त्य गर्न सक्छन्।” उनले २०१४ मा क्रिमिया बिना युद्ध नै रुसले कब्जा गरेको स्मरण गर्दै “युक्रेनलाई नेटो सदस्यता कहिल्यै सम्भव हुँदैन” भन्ने अभिव्यक्ति दिए ।
युक्रेनले भने यी शर्तहरू अस्वीकार्य रहेको दोहोर्याएको छ । नेटो सदस्यता आफ्नो सार्वभौमिक अधिकार भएको तर्क गर्दै आएको युक्रेन युद्धविराम वा शान्ति सम्झौता भए पनि उक्त अडानबाट पछि हट्ने संकेत देखिएको छैन ।
यसैबीच, युरोपेली नेताहरू— फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर फ्रेडरिक मजर, बेलायती प्रधानमन्त्री सर कियर स्टार्मरलगायत—ले संयुक्त वक्तव्य जारी गरी युक्रेनलाई समर्थन दोहोर्याएका छन् । नेटो महासचिव मार्क रुटे पनि वार्तामा सहभागी हुने अपेक्षा गरिएको छ ।
जेलेन्स्कीले सामाजिक सञ्जालमा ट्रम्पको निमन्त्रणाप्रति आभार व्यक्त गर्दै युद्धलाई छिटो र भरपर्दो रूपमा अन्त्य गर्ने आकांक्षा प्रष्ट पारेका छन् । तर, अमेरिकी कूटनीतिक वृत्तमा भने ट्रम्पले जेलेन्स्कीलाई दबाब दिन सक्ने सम्भावनाप्रति चिन्ता व्यक्त गरिएको छ ।
यद्यपि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यसलाई “मिडियाको अतिरञ्जना” भन्दै अस्वीकार गरेका छन् । तर, विश्लेषकहरूको भनाइमा यदि ट्रम्पले पुटिनसँग सहमति गर्दै युक्रेनलाई नेटोबाहिर राख्ने र नयाँ प्रकारको अमेरिकी सुरक्षा ग्यारेन्टी दिने मोडेल अघि सारे भने यूरोपेली सुरक्षा संरचनामा नै ठूलो परिवर्तन आउन सक्नेछ ।
यसैबीच, रुसले आक्रमण जारी राखिरहेका बेला युक्रेनको करिब पाँचौं हिस्सा कब्जामा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।




