काठमाडौँ — गायनको लोकप्रिय रियालिटी शो ‘नेपाल आइडल’को छैटौं संस्करणमा सिन्धुपाल्चोककी गंगा सोनाम विजेता बनेकी छन्। आइतबार साँझ सम्पन्न भव्य फाइनलमा उनले बबिता थापा मगर, दर्शना गन्धारी, अभिनय खाती र मृनल मानन्धरलाई पछि पार्दै उपाधि आफ्नो बनाइन्।
विजेताका रूपमा गंगाले २५ लाख रुपैयाँको चेक पुरस्कार प्राप्त गरिन्। फस्ट रनरअप बनेकी बबिता थापामगरलाई १० लाख र सेकेन्ड रनरअप दर्शना गन्धारीलाई ५ लाख रुपैयाँको चेक प्रदान गरिएको आयोजकले जनाएको छ।
त्यसैगरी, चौथो स्थानमा रहेका अभिनय खाती र पाँचौं स्थानमा पुगेका मृनल मानन्धरले जनही १–१ लाख रुपैयाँ प्राप्त गरेका छन्।
यस संस्करणको निर्णायक मण्डलमा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहेका थिए।




