सत्ता होइन सेवा: मन्त्री पद अस्वीकार गर्दै सुमना श्रेष्ठको अपिल

२८ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ एवम् पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले सुशीला कार्की नेतृत्वको अन्तरिम क्याबिनेटमा सहभागी नहुने स्पष्ट पारेकी छन् ।

शुक्रबार साँझ शीतल निवासमा प्रधानमन्त्री कार्कीको शपथ ग्रहण समारोहमा सहभागी भएपछि सुमना मन्त्री बन्न सक्ने अड्कलबाजी गरिएको थियो । तर फेसबुक लाइभमार्फत उनले आफू क्याबिनेटमा जाने कुनै योजना नरहेको प्रष्ट पारिन् ।

‘भ्रममा कोही पनि नपरिदिनुहोला, म क्याबिनेटमा जान लाछैन,’ सुमनाले भनिन् । उनले हालै बलिदान दिएका युवाहरुको सम्झनामा सत्ता र पदभन्दा सेवा र संस्कार परिवर्तनमा ध्यान दिनुपर्ने बताइन् ।

‘कलिला भाइबहिनीहरुको दाहसंस्कार सकिएको छैन । उहाँहरुको बलिदान संस्कार परिवर्तनका लागि थियो । त्यसैले हामीले त्यही संस्कार परिवर्तनमा केन्द्रित हुनुपर्छ,’ उनले भनिन् ।

कार्की नेतृत्वको सरकारले सफलतापूर्वक काम गरोस् भन्दै शुभकामना दिँदै उनले जोड दिइन्, ‘अब हामीले सत्ता होइन सेवा सोचौं, कुर्सी होइन कर्म सोचौं, नाम होइन काम गर्नुपर्छ ।’

श्रेष्ठले युवाहरुको विद्रोहबाट आएको यो परिवर्तनलाई सफल बनाउन आफू पछाडि बसेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रतिक्रिया
सम्बन्धित खबर