एसिया कप क्रिकेट : ओमानलाई हराउँदै यूएईको सुपर फोर पुग्ने आशा जीवित

दुबई । एसिया कप क्रिकेटमा यूएईले आफ्नो दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ओमानलाई ४२ रनले पराजित गरेको छ। यस जितसँगै यूएईले सुपर फोरमा पुग्ने आशालाई जीवित राखेको छ।

पहिलो खेलमा भारतसँग ९ विकेटले पराजित भएको यूएईले सोमबार अबुधाबीमा भएको खेलमा दमदार प्रदर्शन गरेको हो। अब यूएईले बुधबार पाकिस्तानसँग समूह ‘ए’ को अन्तिम खेल खेल्नेछ। यही खेलको विजेताले सुपर फोरमा स्थान सुरक्षित गर्नेछ।

यूएईको जितसँगै भारत पनि औपचारिक रूपमा सुपर फोरमा पुगेको छ। भारतले यसअघि लगातार दुई खेलमा विजय हासिल गरेको छ र अब शुक्रबार ओमानसँग समूह चरणको अन्तिम खेल खेल्नेछ।

यूएईको आक्रामक ब्याटिङ प्रदर्शन
पहिलो ब्याटिङ गर्ने मौका पाएको यूएईले २० ओभरमा ५ विकेटको क्षतिमा १७२ रनको उत्कृष्ट स्कोर खडा गर्‍यो।

  • अलिसन सराफुले ३८ बलमा ५१ रन (७ चौका, १ छक्का) बनाए।

  • मोहम्मद वसिमले ५४ बलमा ६९ रन (६ चौका, ३ छक्का) जोडे।
    दुवैबीच पहिलो विकेटका लागि ११ ओभरमै ८८ रनको साझेदारी बनेको थियो।

ओमानको कमजोर जवाफ
लक्ष्य पछ्याउँदै आएको ओमान १८.४ ओभरमै १३० रनमा अलआउट भयो।

  • आर्यन विष्टले २४ रन

  • जतिन्दर सिंह र विनायक शुक्लाले समान २०–२० रन जोडे।

तर बलिङतर्फ यूएईका जुनैद सिद्दिकी चम्किए। उनले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए। हैदर अली र मोहम्मद जवादुल्लाहले पनि २–२ विकेट लिए।

अब समूह ‘ए’ मा यूएई र पाकिस्तानबीच हुने खेल सुपर फोर प्रवेशको निर्णायक हुनेछ भने विजेता टोलीले आइतबार भारतसँग पुनः खेल्नेछ।

प्रतिक्रिया
सम्बन्धित खबर