भिसा प्रक्रिया ढिलिँदा युएई प्रस्थान गर्न नसकेको नेपाली क्रिकेट टोली, सिरिजको तयारी प्रभावित

वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक युनिटी कप टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्न युएई जानुपर्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रस्थान भिसा प्रक्रियामा भएको ढिलाइका कारण पछि धकेलिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार नेपाली टोली आज (शुक्रबार) बिहान युएई प्रस्थान गर्ने तयारीमा थियो। तर भिसा अझै नआएको हुँदा प्रस्थान समय अनिश्चित भएको छ।

“अनलाइन प्रणालीबाट भिसा आवेदन दिने क्रममा केही प्राविधिक समस्या आएको हो,” लामाले बताए। “हामीले सबै प्रक्रिया पूरा गरिसकेका छौं। युएई सरकार, त्यहाँको क्रिकेट बोर्ड र आईसीसीसँग समन्वय भइरहेको छ। भिसा आउनेबित्तिकै टोली युएई प्रस्थान गर्नेछ।”

नेपालले आगामी असोज ११ देखि वेस्ट इन्डिजसँग तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने कार्यक्रम रहेको छ। पहिलो पटक आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग टी–२० सिरिज खेल्न लागेको नेपालले ओमानमा हुने टी–२० विश्वकप छनोटको तयारीका लागि यो सिरिजलाई महत्वपूर्ण अभ्यासको रूपमा लिएको छ।

सिरिजपछि नेपाली टोली ओमानमै हुने विश्वकप छनोट प्रतियोगिताका लागि त्यहीँबाट प्रस्थान गर्नेछ। नौ टोली सहभागी छनोटबाट शीर्ष तीन टोलीले २०२६ मा हुने टी–२० विश्वकप खेल्ने मौका पाउनेछन्। नेपाल यसअघि दुई पटक विश्वकप खेलिसकेको छ।


युनिटी कप टी–२० सिरिजको तालिका:

  • पहिलो टी–२० : असोज ११, शारजाह

  • दोस्रो टी–२० : असोज १३, शारजाह

  • तेस्रो टी–२० : असोज १४, शारजाह


नेपाली टोली:

कप्तान: रोहित कुमार पौडेल
उपकप्तान: दीपेन्द्रसिंह ऐरी
अन्य खेलाडी: कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदिल अन्सारी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम।


वेस्ट इन्डिज टोली:

कप्तान: अकील हुसेन
अन्य खेलाडी: फाबियन एलेन, ज्वेल एन्ड्रयू, अकेम अगस्टे, नविन बिदैसी, जेदिया ब्लेड्स, केसी कार्टी, करिमा गोर, जेसन होल्डर, आमिर जन्गु, काइल मेयर्स, ओबेड म्याकोय, जिशान मोतारा, रामोन सिमोन्ड्स, शमर स्प्रिंगर।

प्रतिक्रिया
सम्बन्धित खबर