काठमाडौँ — हिन्दू धर्मावलम्बीहरूको प्रमुख चाड दसैँ नजिकिँदै जाँदा राजधानी काठमाडौं छोड्नेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ। विशेष गरी नयाँ बसपार्क लगायतका मुख्य बस स्टेशनहरूमा घर फर्किन चाहने यात्रुहरूको भीड देखिन थालेको छ।
काम र अध्ययनको सिलसिलामा राजधानीमा बसेका नागरिकहरू अब दसैँ मनाउन आफ्नो घर फर्कन थालेका हुन्। तर, यसपटक यातायात व्यवसायीहरूले अझैसम्म अग्रिम टिकट बुकिङ खुला नगरेकाले धेरै यात्रुहरू घटस्थापनाअघि नै घर फर्कन बाध्य भएका छन्।
देशभर फैलिएको जेनजी आन्दोलनका कारण उत्पन्न राजनीतिक परिस्थितिले विद्यालय तथा क्याम्पसहरू समयभन्दा अगाडि नै बन्द भएकाले विद्यार्थी तथा कर्मचारीहरू घर फर्किन थालेका हुन्। यसले गर्दा राजधानीका बसपार्कहरूमा यात्रुहरूको चहलपहल उल्लेखनीय रूपमा बढेको छ।
गत वर्षहरूमा फूलपातीदेखि टीकासम्मको अवधिमा अग्रिम टिकट बुकिङको सुविधा दिइँदै आएको थियो। ट्राफिक प्रहरीका अनुसार, दसैँको मुख्य दिनहरूमा विशेष गरी फूलपातीदेखि टीकासम्म यात्रुको संख्या उच्च हुने गरेको छ।
यस वर्ष दसैँको टीका असोज १६ गते परेको छ। राजधानी छाड्ने लहर आगामी दिनहरूमा अझ बढ्ने अनुमान गरिएको छ।




