प्रधानमन्त्री कार्कीले डा. महावीर पुनलाई मन्त्री बन्न प्रस्ताव

५ असोज, काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले वैज्ञानिक तथा सामाजिक अभियन्ता डा. महावीर पुनलाई मन्त्रिपरिषद्मा सहभागी हुने प्रस्ताव गरेकी छन्।

मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेकी प्रधानमन्त्री कार्की हाल विभिन्न व्यक्तिहरूसँग छलफल गरिरहेकी छन्। यसै क्रममा उनले डा. पुनसहित केही युवा पत्रकारहरूसँग भेटवार्ता गरेकी थिइन्। छलफलका क्रममा कार्कीले पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्न प्रस्ताव गरेको स्रोतले जनाएको छ। तर, पुनले यसबारे स्पष्ट प्रतिक्रिया भने दिएका छैनन्। अनलाइनखबरसँग कुरा गर्दा उनले भने, “यो अहिले बोल्ने विषय होइन।”

जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेसँगै बनेको अन्तरिम चुनावी सरकारमा हाल तीन जना मात्रै मन्त्री छन्। प्रधानमन्त्री कार्कीले यसअघि अर्थमन्त्रीमा पूर्वसचिव रामेश्वर खनाल, ऊर्जा–जलस्रोत तथा सिंचाइ, शहरी विकास र भौतिक पूर्वाधार मन्त्रीमा कुलमान घिसिङ र गृह तथा कानुन मन्त्रीमा ओमप्रकाश अर्याललाई जिम्मेवारी दिइसकेकी छन्।

युवा पुस्ताको आग्रहअनुसार वैज्ञानिक र नवप्रवर्तनशील अभियन्ता महावीर पुनलाई पनि सरकारमा सहभागी गराउनुपर्ने आवाज उठिरहेको छ। नेपालमा पहिलोपटक ताररहित इन्टरनेट सेवा सञ्चालन गर्ने उपलब्धिमार्फत पुनले रोमन म्यागासेसे पुरस्कार पाएका थिए।

हाल पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकका रुपमा देश विकासका सम्भावना र आविष्कारमा सक्रिय छन्। बन्द अवस्थामा रहेको कृषि औजार कारखाना पनि उनले आविष्कार केन्द्रमार्फत सञ्चालनमा ल्याएका छन्। हालै उनले आफ्नै पुस्तक बिक्रीमार्फत कारखाना सञ्चालनका लागि रकम संकलन गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित खबर