दसैँ नजिकिँदै गर्दा सुनसान हुँदै राजधानी, जीवन्त बन्दै गाउँघर

काठमाडौँ । दसैँ नजिकिँदै गर्दा काठमाडौँ उपत्यका सुनसान बन्दै गएको छ । वर्षभर रोजगारी, अध्ययन, व्यापार र अन्य कामका सिलसिलामा राजधानीमा बस्ने धेरैजसो मानिसहरू आफ्ना गाउँघर फर्किएसँगै सडकहरू सुनसान देखिन थालेका हुन् ।

उपत्यकामा दैनिक सवारी चाप करिब ४०–५० प्रतिशतले घटेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार दसैँका बेला धेरै मानिस गाउँ फर्किएकाले सडक विगतमा भन्दा खाली देखिएका छन्, तर ट्राफिक सुरक्षामा भने प्रहरी उच्च सतर्कतामा रहेको छ ।

पछिल्ला दिनमा सार्वजनिक सवारीसाधनमा यात्रुको भीड पनि उल्लेख्य रूपमा घटेको छ । घर फर्किएका परदेशीहरू बाल्यकालका सम्झना, गाउँको माटोको सुवास, परिवारसँगको पुनर्मिलन र पर्वको उल्लासमा रमाउन आतुर छन् । यसै कारण ग्रामीण बस्तीहरू जीवन्त र उत्साहपूर्ण बन्दै गएका छन् ।

दसैँको तयारीसँगै गाउँघरमा टिका, जमरा, परम्परागत परिकार र चाडपर्वका रंगीन दृश्य सजिँदै गरेका छन् । वृद्ध बाबुआमा, दाजुभाइ, दिदीबहिनी र नातागोता सबैबीच पुनर्मिलनका भावनात्मक क्षणहरू सामाजिक सञ्जालमा झन् झन् देखिन थालेका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि मङ्गलबारसम्म मात्र पाँच लाख ५३ हजार २६१ जनाले उपत्यका छाडिसकेका छन् । यससँगै राजधानी सुनसान हुँदै जाँदा गाउँघर भने दसैँको उल्लास र रमाइलोले झन् चहलपहलमय बन्दै गएको छ ।

प्रतिक्रिया
सम्बन्धित खबर