१५ असोज, काठमाडौं ।
दशैंको घटस्थापनादेखि आजसम्म (नवौँ दिनसम्म) काठमाडौँ उपत्यकाबाट ६ लाख ११ हजार ६५७ जनाले बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार पछिल्लो २४ घण्टामात्रै ५८ हजार ३९६ जना यात्रु विभिन्न नाकाबाट उपत्यका छाडेका छन्। यात्रुवाहक सवारी साधनको संख्या पनि उल्लेख्य बढेको छ। केवल एक दिनमै १३ हजार ३२६ वटा सवारी साधन उपत्यका बाहिरिएका छन्।
प्रहरी उपरीक्षक तथा कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार दशैं सुरु भएसँगै राजधानी छाड्नेको संख्या तीव्ररूपमा बढिरहेको छ। ‘काठमाडौं भित्रिने र बाहिरिने नाकामा सामान्य ढंगले सवारीसाधन सञ्चालन भइरहेको छ,’ उनले जानकारी दिए।
घटस्थापनादेखि अहिलेसम्म काठमाडौँ उपत्यकाबाट बाहिरिएका सवारी साधनको संख्या १ लाख १३ हजार ४१५ पुगेको छ। यिनै सवारीमार्फत यात्रामा निस्किनेहरुको मुख्य गन्तव्य देशका पूर्वी, पश्चिमी र सुदूरपश्चिम प्रदेशका जिल्लाहरू रहेका छन्।
यता उपत्यका भित्रिने संख्यापनि उल्लेख्य रहेको छ। अहिलेसम्म ७७ हजार ५४५ सवारी साधनमार्फत ३ लाख १९ हजार १५ जना काठमाडौं भित्रिएका छन्।
विशेषगरी कोटेश्वर, कलंकी, बल्खु, नयाँ बसपार्क र जगतीजस्ता नाकामा यात्रुको भीड देखिएको ट्राफिक प्रहरीले जनाएको छ।




