गृह मन्त्रालयद्वारा मुलुकमा शान्ति र स्थायित्व कायम गर्न सबैलाई आग्रह

काठमाडौं|

गृह मन्त्रालयले हालै Gen-Z पुस्ताको अगुवाइमा भएका प्रदर्शनपछिका घटनाक्रमलाई सम्बोधन गर्दै मुलुकमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ। मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ सरकार गठनसँगै देशमा शान्ति–सुरक्षाको अवस्था सामान्य रहेको र आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनलाई सफल बनाउन सरकार कटिबद्ध रहेको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “देशमा शान्ति सुरक्षा बहाली गर्दै निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्नु र आम नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्नु सरकारको प्रमुख दायित्व हो।” मन्त्रालयले आन्दोलन, जुलुस तथा विरोधका कार्यक्रमहरू शान्तिपूर्ण र कानूनअनुरूप सञ्चालन गर्न सबै नागरिकसँग आग्रह गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा नागरिकका माग र असन्तुष्टिलाई सम्बोधन गर्न सरकार संवाद र छलफलका माध्यमबाट समाधान खोज्न तयार रहेको उल्लेख छ। साथै, उनले आन्दोलनका कार्यक्रमहरूलाई संयमित र संवैधानिक दायराभित्र राखी अघि बढाउन सबै पक्षलाई आह्वान गरेका छन्।

मन्त्रालयले संवाद, छलफल र सहकार्यका माध्यमबाट समस्या समाधान गर्न सकिने भन्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै नागरिकमा अपिल गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर