पहिरोका कारण अवरुद्ध मेची राजमार्ग एक सातादेखि ठप्प, यात्रुहरू पैदल आवतजावत गर्न बाध्य

इलाम, २५ असोज — लगातारको बाढीपहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग एक सातादेखि सञ्चालनमा आउन सकेको छैन। इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा रोकिएको हो।

सडक डिभिजन इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूले एक सातादेखि निरन्तर प्रयास गरे पनि पहिरो पन्छाउन सफल भएका छैनन्। डिभिजन प्रमुख पवन भट्टराईका अनुसार, “सडक सञ्चालन गर्न ठूलो चुनौती छ, सिङ्गो डाँडा नै भासिएकाले सडक खुलाउन निकै कठिन भइरहेको छ,” उनले भने। उनका अनुसार तीनवटा एस्काभेटर प्रयोग गरी पहिरो पन्छाउने काम जारी छ।

सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले सडक मर्मतकार्य जारी रहेको र यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै हालका लागि राजमार्ग सञ्चालनमा रोक लगाइएको जानकारी दिए। “सुरक्षित रूपमा आवागमन गर्न सकिनेगरी मर्मत नहुन्जेलसम्म सडक बन्द गरिएको हो,” उनले बताए।

राजमार्गअन्तर्गत राजदुवाली र इलाम–नेपालटार सडकखण्डको मिलगोलाई क्षेत्रमा ठूलो क्षति पुगेको छ। मिलगोलाईको अवरोध हटाइसकिएपछि पाँचथर र ताप्लेजुङतर्फबाट राजदुवाली पहिरोमाथिसम्म सवारी सञ्चालनमा आएको सडक डिभिजनले जनाएको छ।

तर, राजदुवाली खण्ड अझै अवरुद्ध रहेकाले इलाम, पाँचथर, ताप्लेजुङ र झापाका यात्रुहरू मारमा परेका छन्। झापाबाट फिक्कल हुँदै माईखोलासम्म सवारी सञ्चालनमा छ, तर त्यसपछि यात्रुहरूलाई करिब डेढ किलोमिटर पैदल नै हिँड्नुपर्ने अवस्था छ। बिरामी र ज्येष्ठ नागरिकलाई स्टेचरमा बोकेर पार गराइने कार्यमा सुरक्षाकर्मीहरू खटिएका छन्।

वैकल्पिक सडकका रूपमा प्रयोग हुँदै आएको मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) पनि अवरुद्ध छ। पुवाखोला र तिल्केनी–सिमलगोलाई सडकअन्तर्गत जोगमाईखोला बेलीब्रिज बाढीले बगाएपछि इलामबाट झापा झर्ने कुनै सडक खुलेको छैन।

जिल्लाका १० स्थानीय तहमध्ये पाँच स्थानीय तह हालसम्म सदरमुकामसँग सडक सञ्जालबाट विच्छेद भएका छन्। राजदुवाली सडकखण्ड अवरुद्ध र विभिन्न पुल भाँचिएपछि सूर्योदय, माई, माङसेबुङ, माईजोगमाई र फाकफोकथुम गाउँपालिका सडक आवागमनबाट पूर्ण रूपमा प्रभावित छन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार, हालसम्म इलाममा १९ पक्की पुल, २ बेलीब्रिज, ११ कल्भर्ट र ३ झोलुङ्गे पुलमा क्षति पुगेको छ भने ३१ सडक खण्डमा ठूलो क्षति पुगेको छ। हालसम्म बाढीपहिरोका कारण ३९ जनाको मृत्यु, २६ जना घाइते, र एक जना बेपत्ता भएका छन्। प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार, सो घटनाबाट २७६ परिवार विस्थापित, १५१ घर पूर्णरूपमा ध्वस्त, र ३२७ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

प्रतिक्रिया
सम्बन्धित खबर