उदयपुर — उदयपुरको चौदण्डीगढी नगरपालिकामा आयोजित तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम स्थानीय युवाहरुको विरोधका कारण अव्यवस्थित बनेको छ। आइतबार बिहान चौदण्डीगढी–१० हडिया बजारमा आयोजित कार्यक्रममा मेयर कालुमान लामा र उपमेयर मणिकादेवी दुलाल जेन–जी युवाहरुको आक्रोशपछि कार्यक्रमस्थलबाट बाहिरिनुपरेको हो।
वडा नं. १० कार्यालयले आयोजना गरेको उक्त कार्यक्रममा मेयर, उपमेयर र वडा नं. ९ का अध्यक्ष प्रकाश राउत प्रमुख अतिथि तथा अतिथि रहेका थिए। प्रत्यक्षदर्शीका अनुसार कार्यक्रम सुरु भएपछि वडाध्यक्ष धर्मराज खड्काले मन्तव्य दिएका थिए। त्यसपछि शुभकामना आदानप्रदान सुरु हुँदै गर्दा एक समूह युवाहरु मञ्चमा प्रवेश गरी व्यानर मिल्काउने, पोडियम तोडफोड गर्ने लगायतका गतिविधि गरेका थिए।
त्यस क्रममा मेयर, उपमेयर र वडाध्यक्ष राउत कार्यक्रमस्थल छाडेर बाहिरिएका थिए। कार्यक्रम विथोल्ने समूहका युवाहरुले नगरपालिकाको नेतृत्वको विकाससम्बन्धी दाबीमा असन्तुष्टि जनाएका थिए।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार वडाध्यक्ष धर्मराज खड्काले र वडाध्यक्ष राउतले आफ्नो कार्यकालमा भएका विकास योजनाको प्रशंसा गरेपछि केही युवाहरु असन्तुष्ट बनेका थिए। उनीहरुले “नगरमा देखिने विकास जनताको मेहनतको परिणाम हो, नेताहरूको होइन” भन्दै आक्रोश पोखेका थिए।
कार्यक्रमपछि केही समय वडाध्यक्ष धर्मराज खड्का स्थानीय युवाहरूसँग घेराउमा परेका थिए। युवाहरुले उनको अध्यक्षत्वमा रहेको जनउत्थान सहकारी संस्थासम्बन्धी हिसाब–किताबबारे प्रश्न उठाएका थिए।
लगभग एक घण्टा छलफलपछि वडाध्यक्ष खड्काले “तिहारपछि सबै विषय पारदर्शी रूपमा स्पष्ट पार्ने” प्रतिबद्धता जनाएपछि स्थिति सामान्य बनेको थियो।
वडाध्यक्ष खड्काले भने, “कार्यक्रमको उद्देश्य विकासका विषयमा संवाद र शुभकामना आदानप्रदान मात्र थियो। केही युवाहरु आएर राजनीतिक आरोप लगाएपछि कार्यक्रम स्थगित गर्नुपर्यो।”
उनका अनुसार कार्यक्रम विथोल्ने युवाहरु अधिकांश बिदाको अवसरमा काठमाडौं, विराटनगर वा विदेशबाट फर्केका स्थानीय नै भए पनि आफूले चिन्न नसकेको बताए।
खड्काले जनउत्थान सहकारीको विषय उठेको स्वीकार गर्दै भने, “सहकारी हाल बन्द छ, तर सबै हिसाबकिताब पारदर्शी छन्। तिहार र छठपछि विस्तृत रूपमा प्रष्ट पार्नेछु।”




