काठमाडौँ । तिहारको मुख्य दिन भाइटीकाको अवसरमा आज काठमाडौँको ऐतिहासिक रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा विशेष टीका कार्यक्रम सम्पन्न भएको छ।
दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले वर्षमा एकपटकमात्र खुल्ने यस मन्दिरमा बिहानैदेखि पूजा, दर्शन र भाइटीका लगाएका छन्।
बालगोपालेश्वर मन्दिर परम्परागत रूपमा वर्षमा यही दिनमात्र सर्वसाधारणका लागि खोलिने गरिन्छ। यहाँ आउने भक्तजनहरूले भगवान् बालगोपालेश्वरको दर्शन गर्दै आपसी माया, भाइचाराको प्रतीकस्वरूप टीका आदानप्रदान गरेका छन्।
यस वर्षको भाइटीकाको शुभ साइत बिहान ११:३९ बजे निर्धारण गरिएको भए पनि, भक्तहरूको भीडलाई ध्यानमा राखी मन्दिर बिहानैदेखि पूजा–दर्शनका लागि खुलाइएको थियो।




