हङकङ सिक्सेसमा नेपालको लगातार दोस्रो हार

दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित, नेपाल ५८ रनमै अल आउट

काठमाडौँ — हङकङ सिक्सेस क्रिकेटमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। शनिबार बिहान भएको खेलमा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको हो।

पहिले ब्याटिङ गरेको नेपाल ३.३ ओभरमै अल आउट हुँदै ५८ रनमा समेटिएको थियो।
नेपालका लागि रसिद खानले १६, लोकेश बमले १४, मोहम्मद आदिल आलमले १३, रूपेस सिंहले ७ र कप्तान सन्दीप जोराले ६ रन बनाए। बसिर अहमद भने शून्यमै आउट भए।

बलिङतर्फ दक्षिण अफ्रिकाका अब्दुल्लाह बेयोमी, ब्लेक सिम्प्सन र जोरिच भ्यान साल्कवेकले समान २/२ विकेट लिए।

५९ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले ३.४ ओभरमै जित हासिल गर्‍यो।
ब्लेक सिम्प्सनले ९ बलमा २ चौका र ३ छक्कासहित नट आउट ३० रन बनाए। ओपनर जोरिच भ्यान साल्कवेकले १७ रन, अब्दुल्लाह बेयोमीले १६ रन योगदान दिए।

नेपालका लोकेश बमले २ विकेट लिए।

यसअघि शुक्रबार समूह ‘ए’को पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो।
नेपालले अब बाउल लिगमा प्रतिस्पर्धा गर्नेछ — जहाँ आज श्रीलंका र भोलि युएईसँग खेल्ने तालिका रहेको छ।

समूह ‘ए’ बाट अफगानिस्तान र दक्षिण अफ्रिका क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
समूह ‘बी’ मा अस्ट्रेलिया, इंग्ल्यान्ड र युएई; समूह ‘सी’ मा भारत, कुवेत र पाकिस्तान; र समूह ‘डी’ मा बंगलादेश, हङकङ र श्रीलंका रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित खबर