राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गरिने – शिक्षामन्त्री पुन

काठमाडौं, २४ कात्तिक — शिक्षामन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक र शिक्षा क्षेत्रका कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न नहुन चेतावनी दिएका छन्।

आइतबार जारी गरिएको विज्ञप्तिमा मन्त्री पुनले सरकारी सेवामा कार्यरत शिक्षाकर्मीहरूले पेशागत मर्यादा र आचरणको पालना गर्नुपर्ने उल्लेख गर्दै राजनीतिक संलग्नता पाइएमा बर्खास्तीसहित कानूनी कारबाही हुने चेतावनी दिएका छन्।

विज्ञप्तिमा भनिएको छ, “सरकारी सेवामा कार्यरत शिक्षक, प्राध्यापक तथा कर्मचारी व्यवस्थापन सम्बन्धी ऐनहरूले कर्तव्य, नैतिक दायित्व र आचरणका प्रावधान स्पष्ट रूपमा तोकेका छन्। कुनै पनि पेशागत ऐनले सेवामा कार्यरत व्यक्तिलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार दिएको छैन।”

मन्त्री पुनका अनुसार, पेशागत हकहित र अधिकारका लागि सौदाबाजी गर्न बाहेक राजनीतिक गतिविधिमा सहभागी हुनेलाई बर्खास्त गर्न सकिने कानूनी व्यवस्था छ।

त्यस्तै, विभिन्न राजनीतिक दलका भ्रातृसंगठन वा शुभेच्छुक संस्थाका रूपमा क्रियाशील शिक्षक, प्राध्यापक र कर्मचारीका संघ–संगठनलाई शिक्षा मन्त्रालयले अब मान्यता नदिने निर्णय गरेको पनि उनले जानकारी गराए।

“राजनीतिक दलसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आबद्ध शिक्षक संगठनहरूलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी गराउँछु,” मन्त्री पुनको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित खबर