सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई लक्षित गर्दै देशमा आवश्यक वातावरण निर्मित भइसकेको बताएका छन्।
दक्षिण कोरिया भ्रमणका क्रममा नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममार्फत मन्त्री खरेलले निर्धारित मितिमै निर्वाचन हुने विश्वास व्यक्त गरे।
उनका अनुसार “भयरहित र स्वच्छ निर्वाचनका लागि सुरक्षा व्यवस्थादेखि राजनीतिक सहमति– सबै पक्षले तयारी पूरा गरिसकेका छन्।” नयाँ नेतृत्वसहितको नेपाल प्रहरीले पनि आवश्यक सुरक्षा वातावरण सुनिश्चित गरेको उनको भनाइ छ।
मन्त्री खरेलले जेनजी आन्दोलनको आधारमा बनेको अन्तरिम सरकारको मुख्य प्राथमिकता—सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र नवप्रवर्द्धन—सँगै पारदर्शी निर्वाचन रहेको बताए।
एआई, डिजिटल रूपान्तरण र कोरियासँगको सहकार्य
उनले एआई र डिजिटल ट्रान्सफर्मेशनलाई नेपालको भविष्यका रूपमा चित्रित गर्दै, कोरियाजस्तो प्रविधि अग्रणी मुलुकबाट नेपालले महत्वपूर्ण ज्ञान र अनुभव हासिल गरिरहेको उल्लेख गरे।
राष्ट्रिय एआई केन्द्र स्थापना भइसकेको सन्दर्भमा कोरिया सरकारको थप सहयोग अपेक्षित रहेको उनले बताए।
निर्वाचन प्रणाली सुधार र वैदेशिक मतदानको तयारी
मन्त्री खरेलले निर्वाचन प्रणालीलाई कम खर्चिलो र प्रभावकारी बनाउन सर्वपक्षीय छलफल आवश्यक रहेको जनाए। विदेशस्थित नेपाली नागरिकलाई मतदान अधिकार उपलब्ध गराउन कानुनी प्रक्रिया अघि बढिसकेको र आवश्यक परे अध्यादेशमार्फत व्यवस्था सुनिश्चित गरिने आश्वासन पनि उनले दिए।
कोरियासँग हवाई यातायात विस्तारका पहल
नेपाल एयरलाइन्सको दक्षिण कोरियासँग सिधा उडान सुविधा उपलब्ध गराउन सरकार आवश्यक पहल गर्दै गरेको मन्त्री खरेलले बताए।
सहभागीहरूको सुझाव
कार्यक्रममा सहभागीहरुले ऊर्जा, पर्यटनलगायत क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गर्न जोड दिए। सुशासन, भ्रष्टाचार नियन्त्रण, तथा जेनजीका माग प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने सुझाव राखिए।
साथै कोरियामा रहेका नेपाली (झण्डै एक लाख) को समस्या समाधान, श्रमिक सहजीकरण, तथा विदेशबाटै मतदान गर्न पाउने व्यवस्था गर्ने विषयमा पनि मन्त्री खरेललाई पहल गर्न अनुरोध गरिएको थियो।
मन्त्री खरेल ‘ग्लोबल आईसीटी लिडरसिप फोरम’को ११ औँ संस्करणमा भाग लिन कात्तिक २५ गते दक्षिण कोरिया गएका थिए। उनी आज साँझ स्वदेश फर्कने क्रममा छन्।




