दुर्गा प्रसाईंको समर्थनमा ‘नागरिक बचाउ दल’ गठन, अध्यक्षमा माधव खतिवडा

३० कात्तिक, काठमाडौं । दुर्गा प्रसाईंको अभियानलाई राजनीतिक रूप दिन ‘नागरिक बचाउ दल’ गठन गरिएको छ । उक्त दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन समेत पेस भएको छ। आयोगमा पेस गरिएको कागजात अनुसार पार्टीको नेतृत्व माधव खतिवडाले गर्नेछन्।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान चलाउँदै आएका प्रसाईंले सोही अभियानसँग मेल खाने नाममा नयाँ दल गठन गरेका हुन्। आयोगले कागजात पूरा भए दर्ता प्रक्रिया अघि बढाउने जनाएको छ। निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय मंसिर १० गतेसम्म रहेकोले सो मितिभित्र दर्ता प्रमाणपत्र पाएमा पार्टीले आगामी निर्वाचनमा सहभागी हुन सक्नेछ।

प्रतिनिधिसभा निर्वाचन फागुन २१ गतेका लागि तोकिएको छ। प्रसाईं पछिल्ला दिनहरूमा विभिन्न मागसहित सरकारसँग संवाद र दबाबमा रहँदै आएका छन्। सरकारले समेत प्रसाईंलाई लोकतान्त्रिक मार्गबाट अघि बढेर चुनावमा सहभागी हुन आग्रह गर्दै आएको छ।

कात्तिक १४ गते प्रधानमन्त्री सुशीला कार्कीले सम्पादकहरूसँगको छलफलमा झापामा परम्परागत नेतृत्व कमजोर हुँदै गएको र प्रसाईंको राजनीतिक उदय सम्भावित रहेको संकेत गरेकी थिइन्।

कात्तिक २६ गते प्रसाईं नेतृत्वको महाअभियानसँग सरकारका प्रतिनिधिहरूबीच वार्ता भएको थियो। वार्तामा प्रसाईं पक्षले ७ मंसिरबाट सुरु हुने आन्दोलन हिंसात्मक नबन्ने र दल दर्ता गरी चुनावी प्रतिस्पर्धामा जाने प्रतिवद्धता जनाएका थिए।

आइतबार प्रसाईं समर्थित दलका प्रतिनिधिहरू सनाखतका लागि आयोग पुगेसँगै नयाँ दलको राजनीतिक यात्रा औपचारिक रूपमा अघि बढेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर