नेपालमा फ्लु ‘ए’ को अज्ञात उपप्रजाति वृद्धि : स्वास्थ्य जोखिम बढ्दो

नेपालमा पछिल्ला केही हप्तादेखि रुघाखोकीका बिरामीको संख्या तीव्र रूपमा बढेको देखिन्छ। जाडो सुरु हुँदै जाँदा यस्तो अवस्था सामान्य मानिए पनि पछिल्लो विश्लेषणले फ्लु ‘ए’ भाइरसको अज्ञात उपप्रजाति देखा परेको संकेत दिएपछि विशेषज्ञहरू सतर्क भएका छन्।

फ्लु भाइरसका ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रजाति छन्। तीमध्ये ‘ए’ र ‘बी’ मानव स्वास्थ्यका लागि सर्वाधिक संवेदनशील मानिन्छन्। नेपालको सन्दर्भमा बर्सेनि यी दुवै प्रजातिका भाइरस क्रमिक रूपमा फैलिंदै आएका छन्।

यस वर्ष (२०२५) फ्लु ‘ए’ अन्तर्गत परम्परागत ‘स्वाइन फ्लु’ र ‘हङकङ फ्लु’ का अतिरिक्त अज्ञात उपप्रजातिको वृद्धि भएको तथ्यांकले देखाएको छ। यसले मानवीय स्वास्थ्यमा कस्तो असर पार्न सक्छ र वर्तमान खोपहरू यसविरुद्ध कत्तिको प्रभावकारी रहन्छन् भन्ने विषयमा प्रश्नहरू उब्जिएका छन्।

फ्लुको लक्षण हलकादेखि गम्भीरसम्म हुन सक्छ। एकदेखि चार दिनभित्र लक्षण देखा पर्ने र लक्षण देखिनुअघि एक दिनदेखि ५–७ दिनसम्म संक्रमितले अरूलाई भाइरस सार्न सक्ने वैज्ञानिक निष्कर्ष छ। जाडो, उच्च ज्वरो, खोकी, घाँटी दुखाइ, नाकबाट पानी बग्नु, शरीर दुखाइ, थकान तथा कतिपयमा पखालासम्म पनि देखिन सक्छ। उपचारमा ढिलाइ भयो भने फोक्सो तथा अन्य अङ्गहरूमा गम्भीर जटिलता उत्पन्न भई मृत्यु पनि हुनसक्छ।

फ्लु ज्येष्ठ नागरिक तथा दीर्घ रोगीका लागि विशेष जोखिमपूर्ण मानिन्छ। खोपले यसका जटिल अवस्थाबाट धेरै हदसम्म बचाउने भएकाले जाडो बढेसँगै खोप लगाउनेको संख्या बढेको टेकु अस्पतालको तथ्यांकले देखाउँछ।

फ्लु ‘ए’ इतिहासमै महामारी फैलाउने प्रजातिको रूपमा चिनिन्छ। २००९ मा ‘स्वाइन फ्लु’ (H1N1 PDM09) ले विश्वव्यापी महामारी फैलाएको थियो, जसले एक वर्षमै ७४ भन्दा बढी देशमा १.५ लाखदेखि ५.७ लाखसम्म मृत्यु गराएको तथ्याङ्क छ। नेपालमा गरिएको अध्ययनले यो भाइरसबाट २१–३० वर्षका युवाहरू बढी प्रभावित भएको देखायो, जुन विगतको ट्रेन्डभन्दा बिलकुल फरक थियो।

‘हङकङ फ्लु’ (H3N2), १९६८ मा पहिलोपटक हङकङमा देखिएको, त्यसबेला १० लाख मानिसको मृत्युको कारण बनेको थियो र नेपालमा पनि बर्सेनि मौसमी फ्लुको रूपमा फैलिँदै आएको छ।

केही हप्ता अघि भारतमा यही H3N2 तीव्र गतिमा फैलिएको र यसको जीनमा कम्तीमा ७ नयाँ म्यूटेशन देखिएको जानकारी सार्वजनिक भयो। म्यूटेशनका कारण भाइरसको फैलिने क्षमता अझ बढेको वैज्ञानिकहरूले बताएका छन्। भारतमा देखिएका संक्रमणहरू नेपालमा पनि केही हप्तामै प्रभाव पार्ने विगतको अनुभव भएकाले स्थिति गम्भीर मानिएको छ।

यस अवस्थाले व्यक्तिगत सावधानी झनै महत्वपूर्ण बनेको छ—

  • नियमित रूपमा साबुन पानीले हात धुनु

  • भीडभाडमा मास्क प्रयोग गर्नु

  • खोक्दा र हाँच्युँदा बाहुलीले मुख–नाक छोप्नु

  • बारम्बार अनुहार नछुने

अन्त्यतः, नेपालमा वार्षिक रूपमा मौसमी फ्लु देखिनु सामान्य भए पनि भारतमा फैलिएको म्यूटेशनयुक्त ‘हङकङ फ्लु’ र नेपालमै देखा परिरहेको अज्ञात उपप्रजातिको वृद्धि मिलेर निकट भविष्यमा प्रकोपको जोखिम बढेको संकेत गर्छ। कोभिड–१९ को जस्तै फ्लु भाइरसको जीन परीक्षण तथा गहन अनुसन्धानले त्यसको प्रभाव र नियन्त्रणका उपाय पहिचान गर्न सम्बन्धित निकायलाई धेरै सहज हुने विशेषज्ञहरूको सुझाव छ।

प्रतिक्रिया
सम्बन्धित खबर