पुस २० गते ‘धरान डे’ मनाइने, धरानमा सार्वजनिक बिदा

सुनसरी । धरान उपमहानगरपालिकाको १२५औँ स्थापना दिवस ‘धरान डे’ आगामी पुस २० गते मनाइने भएको छ। स्थापना दिवसको अवसरमा धरान उपमहानगरपालिकाले उक्त दिन धरान क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बुधबार बसेको उपमहानगरपालिकाको बैठकले यस वर्ष ‘धरान डे’ सीमित कार्यक्रमसहित एक दिन मात्र मनाउने निर्णय गरेको हो। यसअघि भने स्थापना दिवस पाँच दिनसम्म विविध कार्यक्रमका साथ मनाइँदै आएको थियो।

नगरप्रमुख हर्कराज राई (साम्पाङ) का अनुसार पुस २१ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने र गृह मन्त्रालयबाट सोही मितिदेखि भेला तथा कार्यक्रम नगर्न निर्देशन प्राप्त भएकाले कार्यक्रम अवधि घटाएर एक दिनमा सीमित गरिएको हो।

स्थापना दिवसका अवसरमा आयोजना हुने कार्यक्रममा करदातालाई सम्मान गर्ने कार्यक्रमसमेत समावेश रहने उपमहानगरपालिकाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर