अरिजित सिंहले प्लेब्याक गायनबाट विश्रामको घोषणा, संगीत यात्रा भने जारी रहने

बलिउडका लोकप्रिय गायक अरिजित सिंहले पार्श्वगायन (प्लेब्याक सिङ्गिङ) मा नयाँ काम नलिने घोषणा गरेका छन्। इन्स्टाग्राममार्फत नयाँ वर्षको शुभकामना दिँदै उनले वर्षौंदेखि दर्शक–श्रोताबाट पाएको मायाप्रति आभार व्यक्त गरे र अब पार्श्व गायकको रूपमा नयाँ जिम्मेवारी नलिने निर्णय सुनाए। उनले यो यात्रालाई “अद्भुत” भन्दै भगवानप्रति कृतज्ञता पनि व्यक्त गरेका छन्।

तर उनले संगीतलाई पूर्ण रूपमा छोड्ने नभएको स्पष्ट पारेका छन्। आफू सधैं राम्रो संगीतको प्रशंसक रहने र एक युवा कलाकारझैं सिक्दै अगाडि बढिरहने उनको भनाइ छ। पहिलेका केही प्रतिबद्ध कामहरू भने पूरा गर्नेछन् र सन् २०२६ मा उनका केही गीतहरू सार्वजनिक हुन सक्ने संकेत पनि दिएका छन्।

संघर्षदेखि शिखरसम्मको यात्रा

२५ अप्रिल १९८७ मा पश्चिम बंगालको जियागंजमा जन्मिएका अरिजित सिंहले सन् २००५ मा रियालिटी शो ‘फेम गुरुकुल’ बाट आफ्नो सांगीतिक यात्रा सार्वजनिक रूपमा सुरु गरेका थिए। शो जित्न नसके पनि यसले उनलाई संगीत उद्योग बुझ्न र सीप निखार्न महत्वपूर्ण अवसर दियो। त्यसपछि उनले संगीत प्रोग्रामर र पृष्ठभूमि गायकका रूपमा पनि काम गरे, जुन उनको करियरको कम चर्चित तर महत्वपूर्ण चरण थियो।

उनको जीवनको ठूलो टर्निङ प्वाइन्ट सन् २०१३ मा आयो, जब फिल्म ‘आशिकी २’ को गीत ‘तुम ही हो’ सार्वजनिक भयो। यही गीतले उनलाई रातारात चर्चाको शिखरमा पुर्‍यायो। त्यसपछि ‘चाहुँ मै या ना’, ‘राब्ता’, ‘अगर तुम साथ हो’, ‘गेरुवा’, ‘ए दिल है मुश्किल’ जस्ता सुपरहिट गीतहरूले उनलाई संगीत निर्देशकहरूको पहिलो रोजाइ बनायो।

२०१४ देखि २०१९ सम्मको अवधि उनको करियरको स्वर्णिम समय मानिन्छ। उनले हिन्दीका साथै बंगाली, तमिल, तेलुगु, मराठी र कन्नड भाषामा पनि थुप्रै लोकप्रिय गीत गाए।

व्यक्तिगत जीवन

अरिजित सिंहको वैवाहिक जीवन पनि चर्चामा रहँदै आएको छ। उनको पहिलो विवाह ‘फेम गुरुकुल’ कै प्रतियोगी रूपरेखा बनर्जीसँग भएको थियो, तर एक वर्षमै सम्बन्ध विच्छेद भयो। त्यसपछि उनले आफ्नो बाल्यकालकी साथी कोयल रोयसँग विवाह गरे। कोयलको पनि पहिले सम्बन्ध विच्छेद भइसकेको थियो र उनकी एक छोरी थिइन्।

दुवैले एकअर्कालाई साथ दिँदै २० जनवरी २०१४ मा पश्चिम बंगालको तारापीठ मन्दिरमा बंगाली परम्पराअनुसार विवाह गरेका थिए। यो विवाह लामो समयसम्म सार्वजनिक गरिएको थिएन।

अरिजित सिंहको प्लेब्याक गायनबाट विश्रामले उनका प्रशंसकलाई भावुक बनाएको छ, तर संगीतप्रतिको उनको निरन्तर प्रतिबद्धताले भने उनी अझै सांगीतिक यात्रामै रहने स्पष्ट संकेत दिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर