काठमाडौँ। हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायले आज ग्याल्पो ल्होसार पर्व विविध सांस्कृतिक तथा धार्मिक कार्यक्रमका साथ हर्षोल्लासपूर्वक मनाइरहेका छन्। ‘ल्हो’ अर्थात् वर्ष र ‘छार’ अर्थात् नयाँ भन्ने अर्थ दिने यो पर्व शेर्पा समुदायको नयाँ वर्षका रूपमा मनाइन्छ।
महायान बौद्ध परम्पराअनुसार चन्द्रमासको गणनाका आधारमा फागुन शुक्लपक्ष प्रतिपदा तिथिबाट नयाँ वर्ष प्रारम्भ हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाउने परम्परा रहिआएको छ। यस दिन गुम्बा दर्शन गर्ने, धर्मगुरु तथा लामाबाट आशीर्वाद लिने र परिवारजनसँग सामूहिक रूपमा पर्व मनाउने चलन छ।
पर्वको अवसरमा गाउँ–टोलका बाटोघाटो र पानीका मुहान सरसफाइ गर्ने, नौ प्रकारका अन्न मिसाएर बनाइने परिकार ‘गुथुक’ खाने, खाप्से तथा डेशिल जस्ता विशेष परिकार तयार पार्ने र आपसमा शुभकामना आदान–प्रदान गर्ने परम्परा छ। यी गतिविधिले सामाजिक एकता र सामूहिक सहकार्यको सन्देश प्रवाह गर्छन्।
यसैगरी स्याब्रु नृत्य, तुङ्गना (डम्याङ) को मधुर धुन र सामूहिक उत्सवले ग्याल्पो ल्होसारलाई अझ आकर्षक र अर्थपूर्ण बनाउँछ। पर्वले नयाँ आशा, उमङ्ग र उत्साहका साथ समाजमा आपसी प्रेम, सद्भाव, भाइचारा र एकताको भावना सुदृढ बनाउने विश्वास गरिएको छ।
परिवार, मित्रता र समुदायबीचको सम्बन्धलाई अझ घनिष्ठ बनाउँदै सहकार्य र समझदारीको वातावरण सिर्जना गर्ने अवसरका रूपमा ग्याल्पो ल्होसारलाई लिइन्छ। नेपाली सांस्कृतिक विविधताको सुन्दर प्रतीकका रूपमा यो पर्वले राष्ट्रिय एकता र सांस्कृतिक पहिचानलाई थप उजागर गरेको छ।




