विश्वकै पहिलो ‘ट्रिलियनियर’ बन्ने कीर्तिमानमा इलन मस्क

विश्वका चर्चित उद्यमी तथा टेस्ला र स्पेसएक्सका प्रमुख इलन मस्क विश्वकै पहिलो ‘ट्रिलियनियर’ बन्ने कीर्तिमान नजिक पुगेका छन्। स्पेसएक्सले हालै सार्वजनिक निष्कासन (आईपीओ) मार्फत ७५ अर्ब अमेरिकी डलर बराबरको पूँजी संकलन गरेपछि मस्कको कुल सम्पत्ति एक ट्रिलियन डलरको सीमा पार गर्ने अनुमान गरिएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार कम्पनीका वित्तीय विवरण र बजार मूल्यांकनका आधारमा मस्कको सम्पत्ति १.१ ट्रिलियन अमेरिकी डलरभन्दा माथि पुग्न सक्ने देखिएको छ। सेयर कारोबार सुरु भएसँगै उनको सम्पत्तिमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ।

यसअघि फोर्ब्सले मस्कको सम्पत्ति करिब ७८० अर्ब अमेरिकी डलर रहेको अनुमान गरेको थियो। उनको सम्पत्तिको ठूलो हिस्सा स्पेसएक्समा केन्द्रित छ, जहाँ रहेको उनको हिस्सेदारीको मूल्य मात्रै करिब ८६६ अर्ब डलर बराबर रहेको बताइएको छ। टेस्ला तथा अन्य कम्पनीहरूको सफलताले पनि उनको सम्पत्तिमा ठूलो योगदान पुर्‍याएको छ।

फोर्ब्स वेल्थका उपसम्पादक म्याट डुरोटका अनुसार मस्कको सम्पत्ति विश्वका दोस्रो धनी व्यक्तिको सम्पत्तिभन्दा झन्डै तीन गुणा बढी हुन सक्छ। हाल विश्वका धनी व्यक्तिहरूको सूचीमा ल्यारी पेज दोस्रो स्थानमा रहेको उल्लेख गरिएको छ।

दक्षिण अफ्रिकाको प्रिटोरियामा सन् १९७१ मा जन्मिएका ५४ वर्षीय मस्कले अमेरिकाको युनिभर्सिटी अफ पेन्सिलभेनियाबाट अध्ययन पूरा गरेका थिए। सन् २००८ मा टेस्लाको नेतृत्व सम्हालेपछि उनले विश्वव्यापी रूपमा विद्युतीय सवारीसाधन उद्योगलाई नयाँ दिशा दिएका थिए।

टेस्ला र स्पेसएक्सबाहेक मस्कले न्यूरालिंक, द बोरिङ कम्पनीलगायत अन्य प्रविधिमुखी कम्पनीहरूको सह–स्थापना गरेका छन्। यद्यपि उनको व्यावसायिक सफलता जति चर्चित छ, त्यति नै उनका राजनीतिक र सामाजिक अभिव्यक्तिहरू पनि विवादको विषय बन्दै आएका छन्।

सन् २०२५ मा टेस्लाको बिक्रीमा केही गिरावट देखिए पनि लगानीकर्ताहरूको मस्कप्रतिको विश्वास कायम रहेको विश्लेषकहरूको भनाइ छ। यही विश्वास र उनका कम्पनीहरूको तीव्र विस्तारले उनलाई विश्वकै पहिलो ट्रिलियनियर बन्ने ऐतिहासिक उपलब्धिको संघारमा पुर्‍याएको छ।

(स्रोत: सीबीएस न्यूज)

प्रतिक्रिया
सम्बन्धित खबर