दक्षिण कोरियाको ई–७ भिसामा नेपाली सिपयुक्त श्रमिक पठाउने प्रक्रिया पुनः सुरु, म्यानपावर कम्पनीमार्फत रोजगारीको बाटो खुला

२१ असार, काठमाडौं । दक्षिण कोरियामा ई–७ भिसामार्फत नेपाली सिपयुक्त श्रमिक पठाउने प्रक्रिया पुनः सञ्चालनमा आएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले उच्च अदालत पाटनका विभिन्न अन्तरिम आदेश, नेपालस्थित दक्षिण कोरियाली दूतावासबाट प्राप्त कूटनीतिक नोट तथा सरकारी निर्णयका आधारमा यसअघि रोकिएको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार व्यवस्थापन महाशाखाले हालै परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै ई–७ भिसामा दक्षिण कोरिया जाने नेपाली सिपयुक्त श्रमिकका कागजात प्रमाणीकरण लगायत आवश्यक सहजीकरण गरिदिन अनुरोध गरेको छ। महाशाखाले मन्त्रालयको १५ असारको निर्णयअनुसार सम्पूर्ण प्रक्रिया अघि बढाउन आवश्यक समन्वय गर्न आग्रह गरेको जनाएको छ।

मन्त्रालयका अनुसार यसअघि निर्देशन माग गरिएका विषय, नेपालस्थित दक्षिण कोरियाली दूतावासबाट प्राप्त कूटनीतिक पत्र तथा उच्च अदालत पाटनले विभिन्न समयमा जारी गरेका आदेशहरूको अध्ययनपछि ई–७ भिसा कार्यक्रम पुनः सञ्चालन गर्ने निर्णय गरिएको हो।

यस निर्णयसँगै वैदेशिक रोजगार ऐन, २०६४ तथा प्रचलित कानुनी व्यवस्थाअनुसार अब म्यानपावर कम्पनीमार्फत दक्षिण कोरियामा सिपयुक्त नेपाली श्रमिक पठाउने कानुनी बाटो पुनः खुलेको छ।

यस्तै, परराष्ट्र मन्त्रालयमार्फत सियोलस्थित नेपाली राजदूतावासलाई आवश्यक कागजात प्रमाणीकरण तथा सम्बन्धित प्रक्रिया छिटो सम्पन्न गर्न अनुरोध गरिएको छ। उक्त पत्रको बोधार्थ वैदेशिक रोजगार विभाग र दक्षिण कोरियास्थित नेपाली राजदूतावासलाई समेत पठाइएको मन्त्रालयले जनाएको छ।

यस निर्णयसँगै दक्षिण कोरियामा रोजगारीको अवसर खोजिरहेका नेपाली सिपयुक्त श्रमिक र वैदेशिक रोजगार व्यवसायीहरूका लागि ई–७ भिसा कार्यक्रम पुनः सञ्चालन हुनु सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर