आज विश्व आदिवासी दिवस, अधिकार संरक्षणमा जोड

काठमाडौं । विश्वभरका आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति र परम्परागत जीवनपद्धतिको संरक्षण गर्ने उद्देश्यसहित आज विविध कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइँदैछ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९४ डिसेम्बर २३ मा हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। सन् १९८२ मा जेनेभामा संयुक्त राष्ट्रसङ्घको आदिवासी जनसङ्ख्यासम्बन्धी कार्यसमूहको पहिलो बैठक अगस्ट ९ मै बसेकाले सोही दिनलाई दिवसका रूपमा छनोट गरिएको हो।

संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वका करिब ९० देशमा ४७ करोड ६० लाखभन्दा बढी आदिवासी जनजाति बसोबास गर्छन्। उनीहरू विश्वको कुल जनसङ्ख्याको ६ प्रतिशतभन्दा कम भए पनि गरिब तथा पछाडि पारिएका समुदायमा उनीहरूको हिस्सा उल्लेख्य छ।

आदिवासी जनजाति समुदायले पुस्तौँदेखि आफ्ना विशिष्ट संस्कृति, भाषा, परम्परा, ज्ञान र प्रकृतिसँगको सम्बन्ध संरक्षण गर्दै आएका छन्। तर पहिचान, पुख्र्यौली भूमि, प्राकृतिक स्रोतसाधन तथा परम्परागत जीवनपद्धतिमाथिको अधिकारका लागि उनीहरूले लामो समयदेखि संघर्ष गर्दै आएका छन्।

दिवसका अवसरमा आदिवासी जनजातिको अधिकार संरक्षण, भाषा र संस्कृति जोगाउने, परम्परागत ज्ञानको सम्मान गर्ने तथा राज्यको निर्णय प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न जोड दिइएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर