नागपञ्चमी आज: नागपूजासँगै चाडपर्वको मौसम सुरु

काठमाडौं, भदौ १ — हिन्दु धर्मावलम्बीहरूले आज परम्पराअनुसार नागको पूजा–आराधना गरी नागपञ्चमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइरहेका छन्।

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी यस वर्ष जेठ महिनामा अधिकमास परेकाले सौर पात्रोअनुसार भदौ १ गते परेको हो।

यस अवसरमा घरको मूलढोकामा विधिपूर्वक नागको तस्वीर टाँस्ने परम्परा छ। धार्मिक विश्वासअनुसार यसरी नागको तस्वीर टाँस्दा वर्षभर नाग, सर्प, बिच्छीलगायतका जीवजन्तुको भयबाट जोगिनुका साथै अग्नि, मेघ र चट्याङजस्ता प्राकृतिक विपत्तिबाट पनि संरक्षण प्राप्त हुने मान्यता रहेको छ।

हिन्दु धर्ममा नागलाई भगवान् शिव र भगवान् विष्णुसँग जोडेर श्रद्धापूर्वक पूजिन्छ। भगवान् शिवले नागलाई आभूषणका रूपमा धारण गर्ने तथा भगवान् विष्णु शेषनागको शय्यामा शयन गर्ने धार्मिक विश्वासका कारण नागलाई विशेष सम्मान गरिन्छ।

नागपञ्चमीका दिन घरमा नागको तस्वीर टाँसेपछि खेतबारीमा खनजोत नगर्ने तथा नाग, सर्पलगायतका घिस्रने जीवजन्तुलाई हानि नपुर्‍याउने परम्परा पनि रहिआएको छ।

आज काठमाडौंको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरी तथा देशभर रहेका विभिन्न नागदह, कुण्ड र नागस्थानहरूमा विशेष पूजा–आराधना गरिएको छ। श्रद्धालुहरूले गाईको दूध, अक्षता, दुबो, खीर, रोटी लगायतका प्रसाद चढाएर नागदेवताको पूजा गरेका छन्।

नागपञ्चमीसँगै नेपालीहरूको चाडपर्वको मौसम पनि औपचारिक रूपमा सुरु भएको मानिन्छ।

प्रतिक्रिया
सम्बन्धित खबर