काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनावबीच आफ्ना परम्परागत सहयोगी राष्ट्रहरूमाथि दबाब बढाएका छन्। इरान युद्धबाट टाढा रहने वा अमेरिकी नीतिलाई खुलेर समर्थन नगर्ने देशहरूप्रति ट्रम्पले कडा असन्तुष्टि व्यक्त गर्दै सुरक्षा र व्यापार सम्बन्धमा समेत प्रभाव पार्ने कदम चाल्न थालेका छन्।
ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा अमेरिकी साझेदार राष्ट्रहरूसँगको सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्न खोजिरहेका छन्। उनका अनुसार अमेरिकाको सुरक्षा सहयोग प्राप्त गर्ने राष्ट्रहरूले विदेश नीतिमा पनि वासिङ्टनको साथ दिनुपर्छ, अन्यथा त्यसको परिणाम भोग्नुपर्नेछ।
यसै क्रममा ट्रम्पले दक्षिण कोरियासँग हुने वार्षिक उल्ची फ्रिडम सिल्ड संयुक्त सैन्य अभ्यासलाई उल्लेखनीय रूपमा घटाउन पेन्टागनलाई निर्देशन दिएका छन्। उनले अभ्यास महँगो भएको उल्लेख गर्दै उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो सम्बन्ध राम्रो रहेको दाबी गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत दक्षिण कोरियाले इरानको आणविक कार्यक्रम अन्त्य गर्ने अमेरिकी प्रयासमा सहभागी हुन अस्वीकार गरेको बताएका छन्। त्यसपछि उनले सहयोग नगर्ने राष्ट्रहरूको सुरक्षा जिम्मेवारी सधैं अमेरिकाले लिन नसक्ने चेतावनी दिएका छन्।
युरोपेली सहयोगी राष्ट्रहरूसँग पनि ट्रम्पको सम्बन्ध थप तनावपूर्ण बनेको छ। जर्मनीका चान्सलर फ्रिड्रिख मेर्जले इरानप्रति ट्रम्पको रणनीतिको आलोचना गरेपछि पेन्टागनले जर्मनीबाट करिब पाँच हजार अमेरिकी सैनिक फिर्ता गर्ने निर्णय गरेको जनाइएको छ।
त्यसैगरी, स्पेनले इरानविरुद्धको सम्भावित सैन्य कारबाहीका लागि आफ्नो सैन्य आधार प्रयोग गर्न नदिएपछि ट्रम्पले व्यापारिक प्रतिबन्धको चेतावनी दिएका छन्। केही समयपछि स्पेनलाई नाटोबाट निलम्बन गर्ने प्रस्तावसमेत अघि सारिएको खबर सार्वजनिक भएको छ।
ब्लूमबर्गका अनुसार पेन्टागनले नाटो सदस्य राष्ट्रहरूलाई प्रश्नावली पठाएर ट्रम्प प्रशासनको विदेश नीतिप्रति उनीहरूको समर्थनको मूल्याङ्कन गरिरहेको छ। यही आधारमा अमेरिकी सैनिक कहाँ राख्ने वा फिर्ता गर्ने भन्ने निर्णय हुन सक्ने बताइएको छ।
यसबीच इरानसँग अन्तिम शान्ति सम्झौताका लागि तय गरिएको ६० दिने समयसीमा कुनै सहमतिविना समाप्त भएको छ। अमेरिकी आर्थिक तथा सैन्य दबाबका बाबजुद स्ट्रेट अफ हर्मुजको विवाद समाधान हुन सकेको छैन, जसले क्षेत्रीय तनावलाई अझ बढाएको छ।
उता, अमेरिकी नौसेनाले युएसएस जर्ज वासिङ्टन लाई पश्चिमी प्रशान्त क्षेत्रमा पुनः तैनाथ गर्ने निर्णय गरेपछि केही समयका लागि एसिया क्षेत्रमा अमेरिकी विमानवाहक युद्धपोतको उपस्थिति सीमित हुने भएको छ।
यद्यपि, ह्वाइट हाउसकी प्रवक्ता एना केलीले ट्रम्प प्रशासनको बचाउ गर्दै राष्ट्रपति ट्रम्पको नेतृत्वमा अमेरिका अन्तर्राष्ट्रिय रूपमा थप सम्मानित भएको, विभिन्न युद्ध अन्त्य भएका, बन्धकहरू मुक्त भएका र इरानलाई आणविक हतियार विकास गर्न नदिने नीति सफल रहेको दाबी गरेकी छन्।
विश्लेषकहरूका अनुसार ट्रम्पको कडा दबाबमूलक कूटनीतिले अमेरिकाका परम्परागत साझेदार राष्ट्रहरूलाई वासिङ्टनमाथिको निर्भरता घटाउने विकल्प खोज्न प्रेरित गरिरहेको छ। यसले दशकौँदेखि अमेरिकी प्रभावलाई बलियो बनाउँदै आएको सुरक्षा साझेदारी र गठबन्धनमा दीर्घकालीन असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ|




