विपद्को घडीमा मैदानमै गृहमन्त्री गुरुङ, विगतको अनुभव अहिले उद्धारमा उपयोग

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि सरकारको उद्धार तथा राहत अभियान तीव्र बनेको छ। विपद्को यो कठिन घडीमा गृहमन्त्री सुधन गुरुङ आफैं उद्धार, खोजी तथा राहत व्यवस्थापनमा सक्रिय देखिएका छन्।

रसुवा र आसपासका क्षेत्रमा बाढीपहिरोले सडक, पुल, बस्ती तथा जलविद्युत् आयोजनासहितका संरचनामा ठूलो क्षति पुर्‍याएको छ। सयौंको ज्यान गएको र ठूलो संख्यामा मानिस अझै बेपत्ता रहेको अवस्थामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय संयन्त्र परिचालन गरी खोज तथा उद्धारलाई निरन्तरता दिइएको छ।

यही संकटका बीच गृहमन्त्री गुरुङले सिंहदरबारमा बसेर निर्देशन दिने मात्र नभई प्रभावित क्षेत्रको स्थलगत निरीक्षणसमेत गरेका छन्। पछिल्लो समय उनी रसुवा बाढी प्रभावित क्षेत्रमै पुगेर उद्धार तथा राहतको अवस्थाबारे जानकारी लिँदै सम्बन्धित सुरक्षा निकाय र स्थानीय प्रशासनलाई आवश्यक निर्देशन दिइरहेका छन्।

गुरुङको विपद् व्यवस्थापनप्रतिको सक्रियतालाई उनको विगतको सामाजिक सेवाको अनुभवसँग पनि जोडेर हेर्न थालिएको छ। २०७२ सालको भूकम्पपछि उनी स्वयं उद्धार तथा राहत अभियानमा सक्रिय भएका थिए। त्यसपछि उनले स्थापना गरेको ‘हामी नेपाल’ संस्थामार्फत भूकम्प, बाढीपहिरो, कोरोना महामारीलगायतका संकटमा राहत तथा उद्धारका काम सञ्चालन गरिएको थियो। टर्कीमा गएको भूकम्पका बेला समेत उक्त संस्थाले राहत सामग्री पुर्‍याएको विवरण सार्वजनिक भएका छन्।

विपद्का बेला तत्काल निर्णय लिनुपर्ने, सुरक्षा निकायसँग समन्वय गर्नुपर्ने र प्रभावित नागरिकको आवश्यकता पहिचान गरेर राहत पुर्‍याउनुपर्ने हुन्छ। यही कारण गृहमन्त्रीको विगतको मैदानी अनुभव अहिलेको संकट व्यवस्थापनमा उपयोगी बन्न सक्ने देखिएको छ।

सरकारले उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ भने हेलिकप्टरमार्फत दुर्गम तथा प्रभावित क्षेत्रमा उद्धार र राहत पुर्‍याउने काम भइरहेको छ। मन्त्रिपरिषद्ले समेत गृहमन्त्रीलाई उपलब्ध उद्धारका साधनस्रोत परिचालन गर्न अधिकार दिएको छ।

गृहमन्त्री गुरुङले विपद् व्यवस्थापनलाई सरकारको प्राथमिकतामा राख्दै तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताउँदै आएका छन्। केही दिनअघि प्रतिनिधिसभामा बोल्दै उनले विपद् व्यवस्थापनमा सरकार संवेदनशील रहेको र स्थानीय तहलाई अझ बढी जिम्मेवार बनाउने गरी कानुनी तथा संस्थागत सुधार आवश्यक रहेको बताएका थिए।

रसुवाको विपत्तिले सरकारको विपद् व्यवस्थापन क्षमताको गम्भीर परीक्षा लिइरहेका बेला गृहमन्त्री गुरुङको प्रत्यक्ष सक्रियताले उद्धार अभियानलाई थप गति दिने अपेक्षा गरिएको छ। अहिलेको मुख्य चुनौती भनेको बेपत्ताको खोजी, जीवितको उद्धार, घाइतेको उपचार, विस्थापितलाई तत्काल राहत र जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्नु हो।

विगतमा विपद्का बेला स्वयं मैदानमा खटिएको अनुभव भएका गुरुङका लागि यसपटकको जिम्मेवारी अझ ठूलो छ। अब उनको सक्रियता केवल निरीक्षणमा सीमित नभई प्रत्येक प्रभावित नागरिकसम्म राहत र उद्धार प्रभावकारी रूपमा पुर्‍याउन  उनको नेतृत्वको वास्तविक मूल्यांकन गर्नेछ।

प्रतिक्रिया
सम्बन्धित खबर