काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीसम्बन्धी शनिबार बिहान १० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार विभिन्न स्थानबाट मानव अङ्गसहित हालसम्म ६२६ जनाको शव फेला परेको छ भने २,४२६ जना अझै सम्पर्कविहीन रहेका छन्।
प्राधिकरणका अनुसार सबैभन्दा बढी चितवनबाट २३३ जनाको शव फेला परेको छ। त्यसपछि नवलपरासी (पूर्व) मा १५८, नवलपरासी (पश्चिम) मा ४७, नुवाकोटमा ५१, गोरखामा ४८, धादिङमा ४५, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव भेटिएको छ।
बेपत्ता हुनेमध्ये ठूलो संख्या जलविद्युत् आयोजनामा कार्यरत कामदारहरूको रहेको छ। विभिन्न आयोजनाबाट मात्रै ९३३ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ। यस्तै, नेपाली सेनाका ४५, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका १३ जना सुरक्षाकर्मी पनि अझै सम्पर्कमा आएका छैनन्।
जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार रसुवामा ५६२, नुवाकोटमा ११५ र मकवानपुरमा ६५ जना सम्पर्कविहीन छन्। साथै ५१७ विदेशी नागरिक र १२७ जना गैरआवासीय नेपाली (एनआरएन) को अवस्था पनि अझै अज्ञात रहेको प्राधिकरणले जनाएको छ। भन्सार कार्यालयका १५, अध्यागमन विभागका ४ र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ कर्मचारी पनि बेपत्ताको सूचीमा रहेका छन्।
खोज तथा उद्धारका लागि हाल १५,२२४ जना सुरक्षाकर्मी परिचालन गरिएका छन्। तीमध्ये नेपाली सेनाका ६,७५५, नेपाल प्रहरीका ४,८११ र सशस्त्र प्रहरी बलका ३,६५८ जना प्रभावित क्षेत्रमा खटिएका छन्।
हालसम्म ४,४५१ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये १९१ जनालाई जलविद्युत् आयोजनाको सुरुङबाट सुरक्षित निकालिएको हो। शनिबार मात्रै ५१७ जनाको हवाई उद्धार गरिएको छ भने १२९ विदेशी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
हवाई उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका १६ वटा हेलिकप्टरमार्फत ९९ उडान सम्पन्न भएका छन्। बाढीमा घाइते भएका १०१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उपचारका लागि सर्जिकल मेडिकल टोलीसमेत परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
बाढीका कारण सञ्चार पूर्वाधारमा पनि ठूलो क्षति पुगेको छ। प्रभावित भएका १९८ वटा टेलिफोन टावरमध्ये १४४ वटा मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ।
राहत तथा पुनःस्थापनाका लागि सरकारले रसुवा र नुवाकोटलाई जनही १ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराएको छ। साथै १५ वटा स्थानीय तहका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको छ। हालसम्म ३७ ट्रक खाद्य तथा गैरखाद्य राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ भने हेलिकप्टरमार्फत ७ उडान गरी थप राहत सामग्री र सञ्चार उपकरण पुर्याइएको छ।
उद्धार कार्यलाई प्रभावकारी बनाउन इन्धन व्यवस्थापनलाई पनि प्राथमिकता दिइएको छ। नुवाकोटस्थित विभिन्न आयल स्टोरमा ४१ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात रहेको छ। हवाई उद्धारका लागि ३९ हजार लिटर हवाई इन्धन नुवाकोट पठाइसकिएको छ। हाल ८ हजार लिटर मौज्दात रहेको र थप ९ हजार लिटर बाटोमा रहेको प्राधिकरणले जनाएको छ।




