काठमाडौं — रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।
संघले आफ्नो नेतृत्वमा व्यवसायीबाट संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी युवा, श्रम तथा रोजगार मन्त्रालयमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। संघका अध्यक्ष डिकबहादुर खत्रीको नेतृत्वमा पदाधिकारी, कार्यसमिति सदस्य तथा सल्लाहकारहरूको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको थियो।
संघका अनुसार राहत अभियानमा हालसम्म ५२० भन्दा बढी वैदेशिक रोजगार व्यवसायी, संस्था, शाखा तथा विभिन्न विदेशी साझेदार संस्थाहरूको सहभागिता रहेको छ। सहयोग संकलनको क्रम अझै जारी रहेको संघले जनाएको छ।
संघले विपद्को कठिन घडीमा व्यवसायी क्षेत्रको सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउने उद्देश्यले अभियान सञ्चालन गरेको जनाएको छ। अभियानमा सहभागी व्यवसायी, संस्था, शाखा तथा विदेशी साझेदारहरूको योगदानको अभिलेख राखी सम्बन्धित विवरण सार्वजनिक गरिने पनि संघले जनाएको छ।
व्यवसायीको एकता र मानवीय भावना
रसुवाको बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि राहत, उद्धार तथा पुनःस्थापनाका लागि निजी क्षेत्र, व्यवसायी, विभिन्न संघसंस्था तथा स्वदेश–विदेशबाट सहयोग जुटिरहेको छ। यही क्रममा वैदेशिक रोजगार व्यवसायी समुदायले समेत एकजुट भएर ठूलो रकम संकलन गरी सरकारको राहत कोषमा हस्तान्तरण गरेको हो। संघले विपद्को कठिन समयमा वैदेशिक रोजगार व्यवसायी समुदायले देखाएको एकता, सामाजिक उत्तरदायित्व र मानवीय भावनाले व्यवसायी क्षेत्रको सामाजिक भूमिकालाई थप उचाइ दिएको जनाएको छ।
संघले अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यवसायी, संस्था, शाखा, विदेशी साझेदार तथा सहयोगीहरूप्रति धन्यवादसमेत व्यक्त गरेको छ।




