मनास्लुतर्फ पदयात्रा नगर्न गोरखा प्रशासनको आग्रह, थेराङ खोलाको बाढीले दुई घर बगायो

गोरखा, २२ भदौ २०८३ — चुमनुव्रीको थेराङ खोलामा आएको बाढीले झोलुङ्गे पुल र घरहरू बगाएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु क्षेत्रअन्तर्गत नुव्री उपत्यकातर्फ पदयात्रा नगर्न आग्रह गरेको छ।

आइतबार बिहान चुमनुव्री गाउँपालिका–४ प्रोक नामरुङस्थित थेराङ खोलामा आएको बाढीका कारण गाउँपालिकाबाट नामरुङ जंगलतर्फ जाने झोलुङ्गे पुल बगेपछि प्रशासनले पदयात्रामा रोक लगाएको हो। बाढीले चुमनुव्री–४ र २ जोड्ने झोलुङ्गे पुल समेत बगाएको छ।

जिल्ला प्रशासन कार्यालय गोरखाले सूचना जारी गर्दै मनास्लु तथा लार्केपास पदमार्गमा यात्रा गरिरहेका पदयात्रीलाई अर्को सूचना जारी नभएसम्म पदयात्रा नगर्न र नगराउन आग्रह गरेको छ। कुनै विपद्को घटना वा आकस्मिक अवस्था सिर्जना भए तत्काल नजिकको सुरक्षा निकाय तथा स्थानीय प्रशासनलाई जानकारी गराउन पनि प्रशासनले भनेको छ।

बाढीले चुमनुव्री–४ का उर्गिन लामा र नगु छिरिङ लामाको घर बगाएको छ। त्यस्तै लाक्पाभुटी लामा र दोर्जे लामाको घर बाढीका कारण भत्किएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार श्रेष्ठले बताए।

यसैगरी चुमनुव्री–४ र २ जोड्ने फलामे पुल पनि बगेको छ। नामरुङ हुँदै ल्हो जाने फलामे पुल समेत बगेपछि उक्त क्षेत्रको आवागमनमा थप समस्या भएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर