१६१औँ मोतीराम भट्ट जयन्ती आज देशभर मनाइँदै

२६ भदौ, काठमाडौं । राष्ट्रिय विभूति तथा युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी मनाइँदैछ।

नेपाली साहित्यको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएका मोतीराम भट्टको जन्म १९२३ साल भाद्र कृष्ण कुशे औँसीका दिन भएको थियो। ३० वर्षको अल्पायुमै १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन उनको निधन भएको थियो।

मोतीराम भट्टले नेपाली साहित्यको उत्थानमा अतुलनीय योगदान पुर्‍याएका थिए। उनले आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखाना भित्र्याउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनकै पहलमा स्थापित छापाखानाबाट नेपालमा पत्रकारिताको प्रारम्भ भएको मानिन्छ।

मोतीराम जयन्तीका अवसरमा नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संघ–संस्थाले आज विविध कार्यक्रम आयोजना गर्दैछन्।

नेपाली शिक्षा परिषद्ले शुक्रबार दिउँसो २ बजे कवि सम्मेलन आयोजना गर्नुका साथै ‘युवा वर्ष मोती पुरस्कार’ समेत वितरण गर्ने जनाएको छ। परिषद्की अध्यक्ष रमा शर्माका अनुसार कार्यक्रममा साहित्यिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहनेछ।

नेपाली साहित्यको विकासमा मोतीराम भट्टले पुर्‍याएको योगदानको स्मरण गर्दै प्रत्येक वर्ष उनको जन्मजयन्तीलाई साहित्यिक कार्यक्रमसहित मनाउने गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर