आज कोशीसहित चार प्रदेशमा वर्षाको सम्भावना, तराईमा बिहान हुस्सुको पूर्वानुमान

१७ असोज, काठमाडौं । आज देशका चार प्रदेशका हिमाली तथा पहाडी भू–भागमा वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। ती प्रदेशका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ। ती क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

देशका तराई भू–भागमा पनि आंशिक बदली रहनेछ। मधेश प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

राति पनि केही स्थानमा वर्षा

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रसँगै देशका तराई भू–भागमा आंशिक बदली रहनेछ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ।

यसैबीच, तराईका विभिन्न भू–भागमा बिहानपख हुस्सु लाग्न सक्ने भएकाले बिहानको समयमा सडक तथा यातायातमा दृश्यता प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर