मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय : विभिन्न अध्यादेश सिफारिसदेखि उच्च तहका कर्मचारीको बढुवासम्म

काठमाडौं । सरकारले विभिन्न कानुन संशोधनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले भूमि, वन तथा विपद् व्यवस्थापनसम्बन्धी कानुन संशोधनका लागि अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश तथा विपद् सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस गरिएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

सरकारले पोर्चुगल सरकारलाई काठमाडौंमा महावाणिज्य दूतावास स्थापना गर्न सहमति दिने निर्णयसमेत गरेको छ।

बैठकले उच्च तहका कर्मचारीको बढुवा तथा पदस्थापनसम्बन्धी निर्णय पनि गरेको छ। जसअनुसार सहसचिव (प्रा.) नवीनराज सिंहलाई नेपाल इन्जिनियरिङ सेवा, समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय भएको छ।

त्यसैगरी, सहसचिव चक्रबहादुर बुढालाई नेपाल प्रशासन सेवा, समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरिएको छ।

मन्त्रिपरिषद्ले नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई नेपाल लेखापरीक्षण सेवा, समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा बढुवा गर्ने निर्णयसमेत गरेको छ।

बैठकका निर्णयले कानुनी सुधार, मानव अधिकारसम्बन्धी क्षतिपूर्ति, कूटनीतिक उपस्थिति विस्तार तथा प्रशासनका उच्च तहमा नेतृत्व व्यवस्थापनलाई प्राथमिकता दिएको देखिन्छ।

प्रतिक्रिया
सम्बन्धित खबर