प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। यी दुई टोलीबीचको खेल आज अपराह्न ४ः३० बजे सुरु हुने तालिका छ।
यस संस्करणमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले सहभागिता जनाउँदैछन्। प्रतियोगिताका सबै खेल हिमालय स्पोर्ट्स (हिमालय टेलिभिजन) बाट प्रत्यक्ष प्रसारण गरिनेछ।
एनपीएलको तेस्रो संस्करण सिंगल राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुनेछ। लिग चरणपछि इलिमिनेटर तथा क्वालिफायरका खेल हुनेछन् भने प्रतियोगिताको फाइनल मंसिर ५ गते आयोजना गर्ने तालिका छ।
विदेशी स्टार खेलाडीको आकर्षण
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट मान्यता प्राप्त यस संस्करणमा विभिन्न देशका चर्चित विदेशी खेलाडीहरूको सहभागिता रहनेछ। विदेशी खेलाडीको उपस्थितिले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउने अपेक्षा गरिएको छ।
अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नर काठमाडौं गोर्खाजबाट खेल्दैछन्। वेस्ट इन्डिजका आन्द्रे रसेल तथा श्रीलंकाका एन्जेलो म्याथ्युज र चरिथ असलंकासहितका खेलाडी विराटनगर किङ्समा आबद्ध छन्।
सेरफान रदरफोर्ड र फेबियन एलेन सुदूरपश्चिम रोयल्सबाट मैदान उत्रनेछन्। पोखरा एभेन्जर्सले बंगलादेशका सकिब अल हसन, मोहम्मद सैफुद्दिन र महेदी हसनजस्ता खेलाडीलाई टोलीमा समेटेको छ।
त्यस्तै, कर्णाली याक्समा दक्षिण अफ्रिकाका डेभिड मिलर, पाकिस्तानका हुसैन तलात र शाहबजाद फरहान तथा बंगलादेशका अरिफुल इस्लाम र अकबर अली आबद्ध छन्। लुम्बिनी लायन्समा बंगलादेशका सामी हुसेन रहेका छन्।
यसका अतिरिक्त पाकिस्तानका मोहम्मद नवाज, हैदर अली, उस्मान मिर, हसन अली र इफ्तिखार अहमद, इंग्ल्यान्डका मोइन अली, न्युजिल्यान्डका जिम्मी निसम तथा जिम्बाब्वेका कप्तान सिकन्दर राजालगायतका खेलाडीको सहभागिताले पनि प्रतियोगितामा दर्शकको आकर्षण बढाउने अपेक्षा गरिएको छ।
पहिलोपटक डीआरएस प्रविधिको प्रयोग
यस संस्करणको अर्को महत्त्वपूर्ण विशेषता नेपालमा पहिलोपटक एनपीएलमा निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) को प्रयोग हुनु हो। मैदानमा रहेका अम्पायरको निर्णयमाथि आवश्यक पर्दा तेस्रो अम्पायरले प्रविधिको सहायताबाट पुनरावलोकन गर्ने व्यवस्था गरिएको छ।
डीआरएस प्रविधिबाट एलबीडब्ल्यू, रनआउट, स्टम्पिङ, फ्रन्टफुट नोबल र वाइडसम्बन्धी निर्णय पुनरावलोकन गर्न सकिनेछ। यसका साथै छक्काको दूरी र उचाइ मापन गर्न पनि प्रविधिको प्रयोग हुनेछ।
नियमअनुसार प्रत्येक टोलीले एक इनिङ्समा दुईवटा रिभ्यू लिन पाउने व्यवस्था छ। यसले अम्पायरका निर्णयमा शुद्धता बढाउन र खेललाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आठ टोली, अन्तर्राष्ट्रिय स्तरका खेलाडी र पहिलोपटक प्रयोग हुन लागेको डीआरएस प्रविधिसहित सुरु हुन लागेको तेस्रो संस्करणको एनपीएलले नेपाली क्रिकेटप्रेमीमाझ उत्साह थप्ने अपेक्षा गरिएको छ।




