काठमाडौं, ९ कात्तिक। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल र अमेरिकी प्रतिनिधिसभाको वेज एन्ड मिन्स समितिका सभापति जेसन स्मिथ नेतृत्वको संसदीय प्रतिनिधिमण्डलबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल–अमेरिका सम्बन्ध, आर्थिक साझेदारी, जलवायुजन्य विपद् व्यवस्थापन र संसदीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
भेटका क्रममा सभामुख अर्यालले रसुवा तथा भोटेकोशी क्षेत्रमा बाढीबाट भएको क्षति र विपद् व्यवस्थापनका लागि सरकारले गरिरहेका प्रयासबारे जानकारी गराउँदै कठिन परिस्थितिमा अमेरिकाले देखाएको ऐक्यबद्धता र सहयोगप्रति धन्यवाद व्यक्त गरे। जलवायु परिवर्तनबाट बढी प्रभावित हिमाली तथा जोखिमयुक्त क्षेत्रमा क्षति न्यूनीकरण, पूर्वतयारी र उत्थानशीलता बढाउन अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई परम्परागत अनुदान सहयोगमा मात्र सीमित नराखी लगानी, प्रविधि र आर्थिक साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिए। नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न आवश्यक नीतिगत तथा कानुनी सुधारका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले विपद् व्यवस्थापनमा आर्थिक र प्राविधिक क्षमता भएका राष्ट्रले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए।
अमेरिकी प्रतिनिधिमण्डलले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालसँगको सहकार्य र संसदीय सम्बन्धलाई थप सुदृढ बनाउने इच्छा व्यक्त गरेको छ। भेटमा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र संसदीय सुनुवाइ समितिका सभापतिसमेत सहभागी थिए।




