काठमाडौं । काठमाडौं महानगरपालिकाले लैनचौरस्थित नेपाल स्काउटको स्वामित्वमा रहेको जग्गामा खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले बनाएको संरचना बिहीबार बिहान डोजर चलाएर हटाएको छ।
महानगरले यो कार्य युवा तथा खेलकुद मन्त्रालयको आग्रहमा गरेको हो, किनभने उक्त मन्त्रालय अन्तर्गतको नेपाल स्काउटले जग्गा फिर्ता गराउन सहयोग मागेको थियो।
नेपाल स्काउटले भाडाबापतको बक्यौता बुझाउन कम्पनीलाई पटक–पटक ताकेता गर्दै आएको थियो। अन्ततः सात दिने अल्टिमेटम दिएर पनि कम्पनीले अटेर गरेपछि मन्त्रालयको आग्रहमा महानगरले कारबाहीको प्रक्रिया अघि बढाएको हो।
उक्त कम्पनी नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको स्वामित्वमा रहेको बताइन्छ।
लैनचौरस्थित कित्ता नं. १० मा पर्ने करिब ३ रोपनी रैकर जग्गा नेपाल स्काउट र खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिबीच २०६५ सालमा १० वर्षका लागि सम्झौता गरिएको थियो। सम्झौताअनुसार २०७५ सालमै करार अवधि सकिए पनि कम्पनीले जग्गा खाली नगरी निरन्तर प्रयोग गर्दै आएको थियो।
सम्झौता अवधि सकिएको र भाडा नबुझाएको विषयमा विवाद बढेपछि स्काउटले कानूनी प्रक्रिया अघि बढाएको थियो। अन्ततः काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालत दुबैको फैसला नेपाल स्काउटकै पक्षमा आएपछि महानगरले कानूनी निर्णय अनुसार जग्गा खाली गराएको हो।
यससँगै लामो समयदेखि विवादमा रहेको स्काउटको लैनचौरस्थित जग्गा अब पुनः नेपाल स्काउटको नियन्त्रणमा आएको छ।




