हङकङ हुँदै यात्रा गर्ने नेपालीलाई अब ट्रान्जिट भिसा आवश्यक छैन

हङकङ सरकारले नेपाली राहदानीधारी यात्रुहरूका लागि हङकङमार्ग हुँदै विदेश आवत–जावत गर्दा लाग्ने अनिवार्य ‘ट्रान्जिट भिसा’ प्रावधान हटाएको छ। १५ नोभेम्बरदेखि लागू हुने गरी जारी गरिएको यो व्यवस्था नेपाली यात्रुहरूका लागि ठूलो राहत बनेको छ।

नेपाली महावाणिज्य दूतावास, हङकङका अनुसार निरन्तर कूटनीतिक पहल तथा अनुरोधका आधारमा चीनको विशेष प्रशासनिक क्षेत्र हङकङ सरकारले २००५ जुनदेखि लागू हुँदै आएको ट्रान्जिट भिसा नीतिमा परिवर्तन गरेको हो।

संसारकै व्यस्त विमानस्थलमध्ये एक मानिने हङकङ अन्तर्राष्ट्रिय विमानस्थल हुँदै यात्रा गर्दा अनिवार्य भिसा लिनुपर्ने बाध्यताका कारण नेपाली यात्रुहरू वर्षौँदेखि कठिनाइ खेप्दै आएका थिए। अब ट्रान्जिट भिसा आवश्यक नभएसँगै हङकङमार्ग हुँदै यात्रा अझ सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

यस निर्णयले नेपाल र हङकङबीचको द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने विश्वास दूतावासले व्यक्त गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर