सुनसरी–१ बाट प्रतिनिधिसभा चुनाव लड्ने पक्का, मेयर हर्क साम्पाङ राजीनामाकाे तयारीमा

धरानका मेयर हर्क साम्पाङ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–१ बाट उम्मेदवारी दिने तयारीमा रहेका छन्। २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरान उपमहानगरको मेयर बनेका साम्पाङले हालै श्रम संस्कृति पार्टी दर्ता गराइसकेका छन्। पार्टी दर्तासँगै उनी आफै चुनाव लड्छन् वा कसैलाई समर्थन गर्छन् भन्नेबारे उठेको प्रश्न अब प्रष्ट हुँदै गएको छ।

श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य तथा साम्पाङका निकट सहयोगी समिर तामाङका अनुसार मेयर साम्पाङ शतप्रतिशत सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यको रूपमा उम्मेदवारी दिनेछन्। पार्टीका महासचिव आरएन राईले पनि साम्पाङ चुनावी तयारीमा रहेको पुष्टि गरेका छन्।

तामाङका अनुसार साम्पाङले उम्मेदवारी दर्ता गर्नुअघि मेयर पदबाट राजीनामा दिने तयारी गरेका छन्। ‘उहाँले उम्मेदवारी दर्ता गर्नुअघि मेयर पदबाट राजीनामा दिनुहुन्छ,’ तामाङले भने, ‘हाम्रो पार्टीले देशभरका सबै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने योजना बनाएको छ।’

धरानमा लामो समयदेखि सामाजिक अभियन्ताका रूपमा सक्रिय साम्पाङ २०७९ को स्थानीय तह निर्वाचनमा २० हजार ८२१ मत ल्याएर विजयी भएका थिए। त्यसअघि २०७६ को उपनिर्वाचनमा उनले ४२२ मत मात्र पाएका थिए। मेयर भइसकेपछि उनले श्रमदान अभियानमार्फत खानेपानीका नयाँ स्रोत विकास गरे, जसले उनलाई थप लोकप्रिय बनायो। यही लोकप्रियताले उनलाई पार्टी दर्ता गर्ने निर्णयसम्म पुर्‍याएको बताइन्छ।

साम्पाङले उम्मेदवारी दिने सुनसरी–१ क्षेत्रमा धरान उपमहानगरका २० वटै वडा, बराह क्षेत्र नगरपालिकाका १–५ वडा तथा रामधुनी नगरपालिकाका ६–७ नम्बर वडा समावेश छन्।

२०७९ को प्रतिनिधिसभा चुनावमा यो क्षेत्रबाट जसपाका अशोक राई विजयी भएका थिए। सुनसरी–१ परम्परागत रूपमा एमालेको बलियो आधार क्षेत्र मानिन्छ। मनमोहन अधिकारीदेखि जयकुमार राईसम्म यस क्षेत्रमा एमालेका धेरै नेता विजयी हुँदै आएका छन्।

आगामी निर्वाचनमा मेयर साम्पाङको प्रवेशसँगै सुनसरी–१ मा प्रतिस्पर्धा थप चर्किने अनुमान गरिँदैछ।

प्रतिक्रिया
सम्बन्धित खबर