गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा निर्वाचन कुनै पनि परिस्थितिमा नरोकिने स्पष्ट गर्दै शंका र भ्रम नफैलाउन सबैसँग अनुरोध गरेका छन्।
धनगढीमा मंगलबार सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री अर्यालले सरकारले भयरहित, स्वच्छ र स्वतन्त्र वातावरणमै निर्वाचन सम्पन्न गर्ने दायित्वलाई उच्च प्राथमिकतासहित अघि बढाइरहेको बताए।
उनका अनुसार केही हतियार तथा फरार कैदीबन्दीको अवस्थालाई लिएर निर्वाचन नहुनेजस्तो भ्रम सिर्जना गरिनु असंगत छ। “कुनै पनि बहानाले चुनाव रोकिनुपर्ने कारण छैन। सरकार पूर्ण रूपमा प्रतिबद्ध छ,” उनले भने।
गृहमन्त्री अर्यालले देशभर ४,५५२ कैदीबन्दी फरार रहे पनि कर्तव्यज्यान र जघन्य अपराधमा संलग्नको संख्या न्यून रहेको तथा ७२७ थान हतियार फिर्ता ल्याइसकिएको जानकारी दिए।
त्यसैगरी, उनले अहिलेको सरकारको मुख्य लक्ष्य सुशासन, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानूनको शासन र हस्तक्षेपमुखी प्रशासनको अन्त्य रहेको उल्लेख गरे। जेन–जी आन्दोलनपछि शान्ति–सुरक्षा, सेवा प्रवाह र समन्वयमा प्रशासनले उल्लेखनीय सुधार ल्याइरहेको उनको भनाइ थियो।
भाद्र २३ र २४ का घटनाले सुरक्षा संयन्त्र प्रभावित भएको स्वीकार्दै उनले अहिले अवस्था सामान्य बन्दै गएको र सुरक्षा संयन्त्र पुनः लयमा फर्किएको बताए।
वार्ता, संवाद र समावेशी सुन्ने संस्कृतिलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै उनले भने, “यो सरकार सबैको साझा सरकार हो। लोकतान्त्रिक पद्धतिमा निर्वाचन अपरिहार्य भएकाले सबैको भावनालाई समेट्दै हामी निर्वाचनमा होमिएका छौँ।”
मनोवैज्ञानिक चुनौतीहरूलाई पनि सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै गृहमन्त्री अर्यालले नागरिक, राजनीतिक दल र सरोकारवालालाई समन्वय र सहकार्यका साथ देश निर्माणमा हातेमालो गर्न आग्रह गरे।




