काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको स्मरणमा आज विश्वभरजस्तै नेपालमा पनि क्रिश्चियन समुदायले क्रिसमस डे हर्षोल्लासका साथ मनाउँदैछन्।
आजभन्दा करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन इजरायलको वेथलेहेममा येशु ख्रीष्टको जन्म भएको विश्वास गरिन्छ। पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले मानवजातिलाई मुक्ति, प्रेम र शान्तिको सन्देश दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले बताए।
उनका अनुसार येशु ख्रीष्टले मानिसलाई प्रेम गर्न, समाजमा शान्ति स्थापना गर्न र आत्मिक मुक्ति दिन आउनुभएको विश्वासका आधारमा क्रिसमसलाई प्रेम दिवस, शान्ति दिवस र मुक्ति दिवसका रूपमा मनाइन्छ। नेपालमा विसं २०६३ पछि महासङ्घले क्रिसमसलाई महोत्सवको रूपमा मनाउन थालेको पनि उनले जानकारी दिए।
महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो ‘क्रिसमस महोत्सव २०८२’ आयोजना गरिँदैछ। उक्त कार्यक्रममा सरकारका प्रतिनिधि, सरोकारवाला निकायका अधिकारी तथा मानव अधिकारकर्मीहरूको सहभागिता रहने अध्यक्ष गहतराजले बताए।
क्रिसमसको अवसरमा नेपालमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो। विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइयो। विसं २०७८ देखि पुनः सबैका लागि सार्वजनिक बिदा दिने व्यवस्था गरिएको छ।
पछिल्ला वर्षहरूमा क्रिसमसको अवसरमा देशका प्रमुख सहर तथा पर्यटकीय क्षेत्रहरू सजाइने गरिएको छ। विशेष गरी ठमेल, बौद्ध, पोखरा, सौराहा लगायतका क्षेत्रमा क्रिसमस ‘ट्री’, झिलिमिली बत्ती र सांस्कृतिक कार्यक्रमसहित उत्सवको माहोल देखिन्छ।
महासङ्घका अनुसार हाल नेपालमा करिब ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च सञ्चालनमा छन्।




