एलनिनोको प्रभावः यस वर्ष नेपालमा मनसुन ढिलो भित्रने, औसतभन्दा कम वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले यस वर्ष नेपालमा मनसुन सामान्यभन्दा ढिलो भित्रने जनाएको छ। प्रशान्त महासागरमा विकसित भएको एलनिनो प्रणालीका कारण नेपालको मौसमी प्रणाली प्रभावित भएको विभागको निष्कर्ष छ।

सामान्यतया नेपालमा मनसुन जुन १३ (जेठ ३०) आसपास भित्रने गर्छ। तर एलनिनो सक्रिय भएका वर्षहरूमा मनसुन ढिलो प्रवेश गर्ने गरेको विगतको तथ्यांकले देखाएको छ। विभागका अनुसार केही वर्षमा मनसुन जुन २७ (असार १३) सम्म ढिलो गरी भित्रिएको र यस वर्ष पनि यस्तै अवस्था दोहोरिन सक्ने संकेत देखिएको छ।

हाल नेपालमा पश्चिमी वायु सक्रिय रहेकाले प्रि–मनसुन अवधिमा सरदरभन्दा करिब २५ प्रतिशत बढी वर्षा भएको छ। तर मनसुन सुरु भएपछि भने एलनिनोको प्रभावका कारण औसतभन्दा कम वर्षा हुने सम्भावना ६५ प्रतिशतसम्म रहेको विभागले जनाएको छ।

एलनिनो प्रशान्त महासागरमा देखिने एक प्राकृतिक मौसमी प्रक्रिया हो, जसले विश्वव्यापी मौसम प्रणालीमा प्रभाव पार्छ। सामान्य अवस्थामा एसिया–अष्ट्रेलिया आसपासको समुद्री पानी तातो र दक्षिण अमेरिका आसपासको पानी चिसो रहने भए पनि एलनिनो सक्रिय हुँदा यो अवस्था उल्टिन्छ। समुद्रको सतहको तापक्रम असामान्य रूपमा बढेपछि वायुमण्डलीय चक्रमा परिवर्तन आउँछ, जसले कतै खडेरी त कतै अत्यधिक वर्षा र बाढीको जोखिम बढाउँछ।

नेपाल तथा दक्षिण एसियामा वर्षा गराउने मुख्य स्रोत मनसुनी वायु हो। एलनिनोका कारण हिन्द महासागरबाट आउने ओसिलो हावा कमजोर बन्दा मनसुनी बादल नेपालसम्म पुग्न ढिलो हुने र वर्षा पनि कम हुने सम्भावना बढ्छ।

मौसमविद् विनोद पोखरेल का अनुसार एलनिनो सक्रिय भएका वर्षहरूमा विगतमा पनि मनसुन ढिलो भित्रिएको थियो र यस वर्ष पनि त्यही प्रवृत्ति देखिन थालेको छ। उनका अनुसार अर्को साताभित्र नेपालमा मनसुन प्रवेश गर्ने सम्भावना रहेको छ भने पश्चिम नेपालमा मनसुन पुग्न असार १६–१७ गते सम्म लाग्न सक्ने अनुमान गरिएको छ।

विभागको तथ्यांकअनुसार सन् १९७२, १९८२, १९८३, १९९२, २००९ र २०१९ लगायतका एलनिनो वर्षहरूमा पनि मनसुन सामान्यभन्दा ढिलो भित्रिएको थियो।

मौसमविद्हरूले यस वर्ष मनसुनको आगमन ढिलो हुने र वर्षा औसतभन्दा कम हुन सक्ने भएकाले कृषि, जलस्रोत तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई आवश्यक तयारी गर्न सुझाव दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खबर