२६ साउन, काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज विभिन्न प्रदेशमा वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार केही स्थानमा भारीदेखि धेरै भारी वर्षा समेत हुनसक्ने भएकाले जोखिम क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
हाल कोशी र लुम्बिनी प्रदेशका अधिकांश भूभाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रमा धेरै स्थानमा मध्यम वर्षा हुनसक्नेछ।
कर्णाली प्रदेशको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
यस्तै, आज राति कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्र, कर्णालीको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा केही स्थानमा भारी वर्षा हुनसक्नेछ। तीमध्ये एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।
भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्नसक्ने विभागले चेतावनी दिएको छ। वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, पर्वतारोहण, स्वास्थ्य सेवा र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले जोखिम क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।




