काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छापा हान्दा देखी भिजिट भिषामा जानेहरुको संख्यामा कम हुदा हवाई भाडा समेत घटेको छ । दुवई जानको लागी ५५ देखी ६० हजार पर्ने हवाई भाडा हाल २८ देखी ३० हजारमा पाईन थालेको छ । पहिले दैनिक ८ देखि ९ हजारसम्म जाने गरेकोमा अहिले आधा संख्याको हाराहारीमा जाने गरेको छ । विमानस्थल अध्यागमन प्रमुखमा सहसचिव तीर्थराज भट्टराई रहेका बेला चार महिनामा २१२ जना भारतीय नागरिकलाई विना एनओसी (नो अब्जेक्सन लेटर) विदेश पठाएको खुलेको थियो । भारतीय नागरिकलाई विना एनओसी विदेश पठाएको विषयमा अख्तियारको छानबिन अझै जारी छ ।
विमानस्थल अध्यागमनमा भिजिट भिसाका नाममा लामो समयदेखि संगठित असुली भइरहेको भन्दै अख्तियारले झण्डै डेढ महिनादेखि गोप्य अनुसन्धान गरिरहेको थियो । केही ठोस प्रमाणहरु हात परेपछि अख्तियारका अधिकारीहरुले सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएका थिए । यस बिषयलाई लिएर गृहमन्त्री रमेश लेखकमाथि समेत प्रश्न उठेको थियो ।




