२६ असार, (टिमुरे), रसुवा — तिब्बतको ल्हेन्दे खोलामा मंगलबार गेग्रान सहित आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि भएको विध्वंसले ठूलो जनधनको क्षति भएको छ । बाढीको कारण भने अहिलेसम्म पनि यकिन हुन सकेको छैन । बाढीबाट प्रभावित रसुवागढी, गोसाइँकुण्ड टिमुरे क्षेत्र अस्तव्यस्त बनेको छ। सो बाढीमा परी ९ जनाको मृत्यु र २० जना सम्पर्कविहीन भएका जानकारी प्रप्त भएको छ । बाढी पछि विद्युत, इन्टरनेट र टेलिफोन सेवा समेत अवरुद्ध छ। बाढी घटेपछि क्षतविक्षत भएका गाडीहरुलाई हटाउने र सडक मर्मत गर्ने काम भइरहेको छ । विहीबार बिहानैदेखि डोजर र क्रेनको सहायताले गाडी र ठूला ढुंगाहरु पन्छाउने काम जारी रहेको छ । खोज तथा उद्धारको काममा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली प्रहरीको टोली परिचालित भएका छन् । बाढीमा फसेकाको उद्धार जारी छ ।




