१४ भदौ, काठमाडौं ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणाले सूचना प्रविधिको तीव्र विकाससँगै गलत सूचना नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताएका छन्। उनले सत्यतथ्यमा आधारित व्यावसायिक पत्रकारिता नै यसको समाधान हुनेमा जोड दिए।
नेपाल पत्रकार महासंघ ललितपुरले आयोजना गरेको कार्यक्रममा राणाले डिजिटल मिडियाको बढ्दो भूमिकाले समाचार सम्प्रेषणमा अवसर र चुनौती दुवै थपेको उल्लेख गर्दै निष्पक्ष र तथ्यपरक पत्रकारिता अपरिहार्य भएको बताए।
‘पत्रकारितामा अपार सम्भावना छ। तर मूलधारका केही मिडिया पक्षपाती बनेका अवस्थामा स्वरोजगारमूलक मिडियाले वैकल्पिक भूमिका निर्वाह गर्नुपर्ने हुन्छ,’ राणाको भनाइ थियो।
सो अवसरमा वाग्मती प्रदेशसभा सदस्य उर्मिला लामा, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्का, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा र गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पनि व्यावसायिक र जिम्मेवार पत्रकारिताको महत्वमा जोड दिएका थिए।




