जेनजी आन्दोलनमा देखिएका ‘नकाबधारी’ युवाको पहिचान : उनी नेपाल टिमका सदस्य रहेछन्

५ भदौ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा कालो पहिरनमा देखिएका नकाबधारी युवाको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि उनी को हुन् भन्नेबारे चासो बढेको थियो।

पैतालादेखि शिरसम्म कालो पहिरन, कालो टोपी, कालो चश्मा, मुख छोप्ने कपडा, टिसर्ट, पाइन्ट र जुत्ता लगाएका ती युवाले बडी प्रोटेक्सन ज्याकेट र वाकिटकीसमेत बोकेका कारण उनीप्रति सर्वसाधारणको ध्यान गएको हो।

यस विषयमा अनुसन्धान थालेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले ती युवाको पहिचान गरेका छन्। प्रहरीले ती युवक हामी नेपाल टिमका सदस्य जेनिश महर्जन भएको पत्ता लगाएको हो।

हामी नेपाल टिमका संयोजक सुदन गुरुङले पनि प्रहरीको भनाइ पुष्टि गर्दै भने, “उनी हाम्रै टिमका २१ वर्षीय जेनिश महर्जन हुन्।”

किन लगाइयो यस्तो ड्रेस ?

जेनिशले यो पहिरन लगाउन थालेको कारणबारे संयोजक गुरुङले जानकारी दिँदै भने, “जाजरकोट भूकम्पताका उनी उद्दार तथा राहतमा सक्रिय थिए। त्यतिबेला सेनाले यस्तै पहिरन प्रयोग गरेको देखेर उनलाई पनि मन पर्‍यो र त्यसपछि उनले सोही किसिमको ड्रेस किने।”

त्यसरी आन्दोलनमा उपस्थित हुँदा जेनिशले वाकिटकीसमेत बोकिरहेका थिए। हामी नेपाल टिमका अनुसार तीन वटा वाकिटकीमध्ये एउटा जेनिशसँग, अर्को मेडिकल टिमसँग र अर्को एम्बुलेन्स समूहसँग थियो।

जेनजी आन्दोलनमा जेनिशको भूमिका

गुरुङका अनुसार, जेनिशको मुख्य जिम्मेवारी आन्दोलनका बेला घाइतेलाई उद्दार गरेर एम्बुलेन्ससँग समन्वय गरी अस्पताल पुर्‍याउनु थियो। नकाबधारी भनेर चर्चामा आएका उनी वास्तवमा आन्दोलनमै घाइते सहयोग गर्ने कार्यमा संलग्न रहेको स्पष्ट भएको छ।

Photo Credit : विवेक पोखरेल

प्रतिक्रिया
सम्बन्धित खबर